रौतहट प्रहरीको एक्सन,मिटरव्याजी साहु श्री भगवान पक्राउ

गढिमाइ खबर
246 पाठक संख्या

ओम प्रकाश यादव/ रौतहट प्रहरी एक्सनमा आएको छ। उसले मिटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरुलाई धमाधम पक्राउ गर्न थालेको छ।

मिटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएको छ। चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् ।

अनुचित लेनदेन अर्थात तोकिएको भन्दा बढी चर्को ब्याजमा पैसा लगानी गरेको आरोपमा रौतहट प्रहरीले विहिवार एक जनालाई पक्राउ गरेको छ।

मिटर ब्याजको आरोपमा लामो समयदेखी फरार रहेका जिल्लाको माधवनारायण नगरपालिका –५का ४१ वर्षीय श्रीभगवान साह तेलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट खटेको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा अनुचित लेनदेन कसुर मुद्दाका फरार अभियुक्त साहलाई पक्राउ गरेको हो ।

अनुचित लेनदेन अर्थात मिटरव्याजीको कारोवार गरेको आरोपमा जिल्ला अदालत रौतहटको पक्राउ पुर्जीको आधारमा मीटरव्याजी साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिएका छन्। साहलाई जिल्लाको शुकदेव चौकबाट पक्राउ गरिएको डिएसपी रायले बताए ।

स्थानीय रामप्रित साहले दिएको जोहेरीको आधारमा श्रीभगवान साह र निजको श्रीमती विनिता साहमाथी अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी गरिएको थियो। अनुचित लेनदेन सम्बन्धी मुद्दामा आलतबाट पक्राउ पुर्जी जारी भएको साहका श्रीमति विनिता साह फरार रहेको र उनको पनि खोजतलास भइरहेको श्रोतले जनाएको छ ।

पीडित रामप्रित साहले मीटर व्याजी श्रीभगवान साहसंग लिएको साँवा र ब्याज चुक्ता गरेपछि श्रीभगवान साहले उनीसंग गराएको कपाली तमसुक कागज फिर्ता गर्न नमानेपछि पीडित रामप्रितले प्रहरीमा जाहेरी दिएका थिए ।

पक्राउ परेका व्यक्ति साह सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहदा त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको कुरा प्रहरीले थाहा पाउने वित्तिकै निजलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख छ ।

रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे अहिले विदामा छन्। एसपी घिमिरे विदामा गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी अहिले डिएसपी दिपक कुमार रायले सम्हालेका छन् ।

डिएसपी रायले फरार अभियुक्तहरुलाई पक्राउ गर्न तादरुकता देखाएपछि विभिन्न मुद्दामा फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्न थालेका छन ।

डिएसपी रायको कडा निगरानी र एक्सनकै कारण कठोर मीटर व्याजी रहेका श्रीभगवान साह पक्राउ परेका हुन्। यसमा रौतहट प्रहरीको ठुलो सफलता रहेको देखिएको छ ।

मीटर व्याजी श्रीभगवान साह पक्राउ परेपछि अनुचित लेनदेन अर्थात मिटरब्याजीको कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ । उनीहरुमा चर्को व्याज असुली गरे कहि कतै समातिने त होइन भनी डर छाएको छ।

मुलकी देवानी संहिता २०७४ को परिच्छेद १५ को दफा ४७८ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दस प्रतिशतभन्दा बढी हुने छैन भन्ने उल्लेख छ ( नेपाल सरकार २०७४) कानुनमा यस्तो प्रावधान रहे तापनि व्यवहारमा ठीक उल्टो छ ।

मिटर–ब्याजलाई मधेशतिर सैतानी ब्याजको पासो भन्ने गरेको पाइन्छ । ब्याजको पासोमा परेपछि उम्किनै नसक्ने भएकाले यसलाई स्थानीय जनताले सैतानी नाम दिएका हुन्।

छोटो अवधिका लागि र प्रचलित दरभन्दा अत्यन्त बढी ब्याज प्रतिफल पाउनेगरी गरिएको लगानीलाई चलनचल्तीमा मिटर ब्याज कारोबार भन्ने गरिन्छ। साँवा ब्याज तिर्ने भाका छोटो भएकाले तोकिएको भाकामा नतिरे वा तिर्न नसके ‘स्पिडोमिटर’ मा अङ्क बढेजस्तो गरी ब्याज रकम बढ्ने हुनाले यस्तो कारोबारलाई मिटर ब्याज भनिएको छ।

साझा गर्नुहोस्