बारा/कार्तिक
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ काँटाटोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ७६ हजार ३ सय ९० रुपैयाँ नगद र तास बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको टोलीले स्थानीय गोरी माया तामाङको बाख्रा गोठमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१७ का उपेन्द्रप्रसाद साह (३१), मिनबहादुर थिङ (६१), कुमार थिङ (३६), जिम्बु चौधरी (३७), सितलाल तामाङ (४९) र वाङ तामाङ (३०) छन्। यस्तै, कलैया उपमहानगरपालिका–२१ का देवचन्द्रप्रसाद चौधरी (५५) र रमेश साह (३१) पनि पक्राउ परेका छन्।
जुवा खेल भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नगद र ताससहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी मिनबहादुर घलेले जानकारी दिए।
पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।




