कलैया । बारामा अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाए पनि जनशक्ति तथा स्रोतसाधनको अभाव चुनौतीका रूपमा देखिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको वार्षिक विवरणअनुसार गत आर्थिक वर्षमा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा किनारा लगाइएका छन्।
प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयको वार्षिक प्रगति सार्वजनिक गर्दै ५ सय १८ मुद्दा अझै प्रक्रियामै रहेको जानकारी दिए। उनका अनुसार कुल मुद्दाको करिब ६२ प्रतिशत फछ्र्यौट भएको छ। अपराध अनुसन्धानसँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणलाई समेत प्रहरीले प्राथमिकतामा राखेको उनले बताए।
सीमा क्षेत्रमा गरिएको निगरानीका क्रममा आर्थिक वर्ष २०८२/०८३ मा १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद भएको प्रहरीको तथ्यांक छ। अवैध कारोबारमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरिएको र प्रयोग गरिएका ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको एसपी कुँवरले जानकारी दिए।
प्रहरी नेतृत्व सम्हालेयता सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा गस्ती र चेकजाँचलाई तीव्र पारिएको उनले बताए। २०८२ मंसिर ७ गते कार्यालयमा हाजिर भएका कुँवरले खुला सीमाको फाइदा उठाउँदै हुने चोरीपैठारी नियन्त्रणका लागि शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको उल्लेख गरे।
जिल्लामा बैंकिङ कसुरका घटना पनि बढ्दो चुनौतीका रूपमा देखिएको प्रहरीको भनाइ छ। गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी १ सय ९५ मुद्दा दर्ता भएकामा १ सय ३१ वटा फछ्र्यौट भएका छन्। ६४ वटा मुद्दा बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरका १ सय ४७ मुद्दा दर्ता भएका थिए। साइबर अपराध र घरेलु विवादसमेत प्रहरीका लागि थप चुनौती बनेको एसपी कुँवरले बताए।
प्रहरीले लागुऔषध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई पनि अभियानकै रूपमा अघि बढाएको जनाएको छ। महिला तथा बालबालिकाविरुद्ध हुने अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र समुदायसँगको सहकार्यमा आधारित कार्यक्रमलाई समेत निरन्तरता दिइएको प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग, औद्योगिक क्षेत्र र संवेदनशील स्थानमा प्रहरीको उपस्थिति बढाइएको बताउँदै कुँवरले सडक दुर्घटना घटाउन ट्राफिक सचेतना र सवारी नियमको पालनामाथि निगरानी बढाइएको जानकारी दिए।
बारामा प्रहरी जनशक्तिको अवस्था भने आवश्यकता अनुरूप छैन। कार्यालयको स्वीकृत दरबन्दी ९ सय ५३ रहेकामा ८ सय ९२ जना मात्रै कार्यरत छन्। यसअनुसार ६१ जना प्रहरीको कमी छ। उपलब्ध जनशक्तिबाटै शान्ति सुरक्षा, अनुसन्धान, गस्ती र अन्य नियमित जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको एसपी कुँवरले बताए।
स्रोतसाधनको अभाव पनि प्रहरीको दैनिक काममा देखिएको छ। पर्याप्त सवारीसाधन नहुँदा कतिपय अवस्थामा प्रहरी कर्मचारीले निजी मोटरसाइकल प्रयोग गरेर गस्ती तथा ड्युटी गर्नुपरेको उनले बताए। केही अस्थायी प्रहरी पोस्ट र चौकीमा पंखा, बेडलगायत सामान्य भौतिक सुविधाको समेत कमी रहेको उनको भनाइ छ।
आगामी दिनमा प्रहरी सेवालाई नागरिकमुखी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै एसपी कुँवरले अपराध अनुसन्धानका लागि समुदायबाट प्राप्त सूचना महत्वपूर्ण हुने बताए। नागरिकलाई प्रहरीसँग आवश्यक सूचना आदानप्रदान गर्न आग्रह गर्दै उनले सञ्चारमाध्यमसँगको सहकार्यलाई पनि थप मजबुत बनाउने बताए।
प्रहरी कार्यालयले ‘नेपाल पुलिस एप्स’ बाट प्राप्त गुनासो तथा सूचनालाई समेत निगरानीमा राखेर आवश्यक समन्वय गर्दै आएको जनाएको छ। अपराध नियन्त्रण र शान्ति सुरक्षासम्बन्धी सूचना नागरिकसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एसपी कुँवरले बताए।





