बारामा बृहत् सामाजिक सद्‌भाव र्‍याली

गढिमाइ खबर
33 पाठक संख्या

बारा/सुनसरीमा हालै भएको घटनापछि देशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै बाराको कलैयामा सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश फैलाउने उद्देश्यले शनिबार बृहत् सामाजिक सद्‌भाव र्‍याली आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बारा परिसरबाट बिहान करिब ८ः०० बजे सुरु भएको ¥यालीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले गर्नुभएको थियो। र्‍यालीमा विभिन्न धार्मिक संघ–संस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्म तथा संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकाय, अधिकारकर्मी, सञ्चारकर्मी, गैरसरकारी संस्था, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारण गरी करिब करिव ४ सयको सहभागिता रहेको थियो ।

सहभागीहरूले बजार परिक्रमा गर्दै आपसी सद्‌भाव, मेलमिलाप, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरेका थिए। जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै समुदायबीच शान्ति, सद्‌भाव र पारस्परिक विश्वास कायम राख्ने उद्देश्यले र्‍याली आयोजना गरिएको जनाएको छ।

सुरक्षाका दृष्टिले र्‍यालीमा नेपाल प्रहरी, नेपाली सेना तथा प्रदेश ट्राफिक प्रहरीको संयुक्त सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ५० जना, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २० जना, नेपाली सेनाका प्रमुख गिरीराज गौतमको कमाण्डमा १० जना तथा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतको कमाण्डमा १५ जना गरी करिब ९५ जना सुरक्षा कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

साझा गर्नुहोस्