संबिधान दिवसको अवसरमा आममाफी पाएर पुर्बएमालेका नेता रामचन्द्र कुशवाहा प्यासी रिहा भएपछि स्वर्गिय महमुद आलमका परिवारले मंगलवार बिरोध प्रदर्शन गरेका छन ।
बाराको परवानीपुर बजारमा आलमका परिवारले बिरोधमा प्रदर्शन गरेका हुन ।
बिरोध प्रदर्शनमा सहभागी भएका आलमका परिवारजन तथा एमालेका स्थानीय नेताहरुले प्यासीको रिहाईका बिरोधमा बिभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
बिरोध प्रदर्शनमा सहभागी भएकाहरुले के नेपालमा जन्मकैद भनेको ८.५ बर्ष मात्रै हो,पिडीतलाई न्याय खोई ? दोषीलाई कारवाही गर,अपराधी छोड्ने सरकार मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए ।
उनीहरुले प्यासीलाई छाडने निर्णय फिर्ता लिनुपर्ने माँग समेत गरेका थिए । बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमालेका स्थानीय नेता गजेन्द्र पटेलले सरकारले हत्याको अभियोगमा जेलमा रहेका प्यासीलाई रिहा गरेकोमा आपति जनाए ।
उनले प्यासीलाई गठबन्धन सरकारले चलखेल गरि रिहा गरेकाले उक्त निर्णय फिर्ता गर्नुपर्ने माँग गरेका थिए। हत्या जस्तो गम्भिर प्रकृतिका पिडकलाई समेत संबिधान दिवसको अवसर पारेर रिहा गरेर पिडीत परिवारलाई बर्तमान सरकारले झन पिडा दिएको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का पुर्बवडाध्यक्ष समेत रहेका पटेलको भनाई थियो ।
सर्बोच्च अदालतमा समेत आलम हत्या प्रकरणको मुदा चलिरहेको जनाउदै उनले सरकारले प्यासीलाई गरेको रिहाईको निर्णय सच्याउनुपर्ने जिकिर गरे ।
२०७० सालको दोस्रो संविधान सभा चुनावको बेला बारा क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका एमाले नेता महमुद आलममाथि असोज १८ बाराको परवानीपुरमा रहेको चावोसती उधोग अगाडि गोली प्रहार गरीएकोमा २४ गते उनको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।
सोही मुद्धामा प्यासीलाई उच्च अदालत जनकपुुर अस्थायी ईजलाश वीरगञ्जले जन्मकैदको फैसला गरेको थियो । त्यसअघि जिल्ला अदालत बाराले प्यासीलाई सोही अभियोगमा १० बर्ष जेल सजाय सुनाएको थियो ।