कलैया बजारमा देखियो विकासको नयाँ नमुना : बनेको सडक ढलानमै फेरि ब्लक बिछ्याउने काम

गढिमाइ खबर
25 पाठक संख्या

कलैया । बाराको कलैया बजारमा आर्थिक वर्षको अन्तिम समयमा सञ्चालनमा आएको एक पूर्वाधार योजनाले स्थानीय तहमा चर्चा र विवाद दुवै निम्त्याएको छ। प्रदेश सरकारबाट विनियोजित २० लाख रुपैयाँको बजेटबाट पहिल्यै ढलान गरिएको सडकमाथि पुनः ब्लक बिछ्याउने काम सुरु भएपछि स्थानीयले विकासको प्राथमिकता र सार्वजनिक बजेटको सदुपयोगबारे प्रश्न उठाएका छन्।

कलैया उपमहानगरपालिका–१ को हाटबजार क्षेत्रमा प्रदेशसभा सदस्यको सिफारिसमा सञ्चालन भइरहेको योजनाअन्तर्गत नयाँ सडक निर्माण नभई प्रयोगमै रहेको ढलान सडकलाई ब्लकले छोप्ने काम भइरहेको छ। आर्थिक वर्ष समाप्त हुनै लाग्दा यस्ता योजना कार्यान्वयन गरिनुलाई स्थानीयले बजेट खर्च गर्ने हतारको परिणामका रूपमा हेरेका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत हाटबजार क्षेत्रको स्तरोन्नतिका लागि २० लाख रुपैयाँ छुट्याइएको हो। तर, सो रकमबाट नयाँ पूर्वाधार थप्नेभन्दा पुरानै सडकमा पुनः निर्माण कार्य थालिएकाले योजनाको उद्देश्यप्रति नै प्रश्न उठ्न थालेको छ।

स्थानीयका अनुसार यसअघि नै राम्रो अवस्थामा रहेको सडकमा फेरि ब्लक बिछ्याउनु आवश्यक थिएन। उनीहरूले यही योजनाअन्तर्गत दही बजार क्षेत्रमा सुरु गरिएको ब्लक बिछ्याउने कामसमेत अझै अधुरै रहेको उल्लेख गर्दै अपूरा योजना छाडेर अर्को स्थानमा काम अघि बढाउनु उचित नभएको बताएका छन्।

निर्माणस्थलमा योजना सम्बन्धी सूचना बोर्डसमेत नराखिएको पाइएको छ। सार्वजनिक निर्माण कार्यमा योजना, लागत, निर्माण अवधि, उपभोक्ता समिति तथा सम्बन्धित निकायको विवरण खुल्ने सूचना बोर्ड अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना नभएको स्थानीयको गुनासो छ।

स्थानीय स्रोतका अनुसार योजना उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको भनिए पनि निर्माण कार्य विजय गुप्ताले ठेक्का शैलीमा गरिरहेको आरोप छ। यसले योजना कार्यान्वयनको पारदर्शितामाथि थप प्रश्न उठाएको स्थानीयको भनाइ छ।

यस विषयमा पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओमकुमार साहले घटनाबारे जानकारी प्राप्त भएपछि प्राविधिक टोलीलाई स्थलगत निरीक्षणका लागि खटाइएको बताए। निरीक्षण प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने उनको भनाइ छ। उनले निर्माणस्थलमा सूचना बोर्ड राख्नु अनिवार्य रहेको उल्लेख गर्दै नियम उल्लङ्घन भएको पाइए सम्बन्धित रकम कटौती गरिने चेतावनी समेत दिए।

साझा गर्नुहोस्