जीतपुरको फुटपाथ हटाउने विवाद थप चर्कियो : नगर प्रमुखसँग वार्ता गर्न पुगेका ठेकेदार कार्यकक्षबाटै निकालिए

गढिमाइ खबर
20 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा फुटपाथ हटाउने अभियानलाई लिएर विवाद थप चुलिएको छ। फुटपाथ व्यवसायीहरूको पक्षमा उभिएका जीतपुर गुदरी बजारका ठेकेदार शम्भु गुप्ता नगर प्रमुख राजन पौडेलसँग समाधान खोज्न उपमहानगरपालिकाको कार्यालय पुगे पनि छलफल हुन सकेन।

नगर प्रहरीसँगको विवाद र हातपातको घटनापछि आक्रोशित बनेका नगर प्रमुख पौडेलले गुप्तासँग कुरा गर्न नमानेको स्रोतको दाबी छ। कार्यकक्षमै पुगेका गुप्तालाई नगर प्रमुख पौडेलले बाहिर निकालेपछि स्थिति थप असहज बनेको थियो।

यसअघि फुटपाथ व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै गुप्ताको नेतृत्वमा व्यवसायीहरूले वीरगञ्ज–पथलैया सडकखण्डको जीतपुर क्षेत्रमा चक्काजाम गरेका थिए। सडक अवरुद्ध हुँदा केही समय सवारी आवागमन प्रभावित बनेको थियो। पछि इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलीले हस्तक्षेप गरेर अवस्था सामान्य बनाएको थियो।

फुटपाथ व्यवसायीहरूले आफूहरूलाई हटाउने मात्र होइन, वैकल्पिक व्यवस्था पनि गर्नुपर्ने माग राखेका छन्। उनीहरूले अचानक गरिएको हटाउने अभियानले दैनिक गुजारा नै प्रभावित भएको गुनासो गरेका छन्।

उपमहानगरपालिका भने सार्वजनिक स्थान अतिक्रमणमुक्त बनाउने अभियानबाट पछि नहट्ने अडानमा देखिएको छ। नगर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।

फुटपाथ हटाउने विषय अहिले जीतपुर बजारमा मात्रै सीमित नभई सामाजिक सञ्जालसम्म बहसको विषय बनेको छ। नगरपालिकाको कदम सही कि गलत भन्ने विषयमा स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिन थालेका छन्।

साझा गर्नुहोस्