बारा जिल्लाको एसईई नतिजा कमजोर, आधाभन्दा बढी विद्यार्थी नन–ग्रेडेड

गढिमाइ खबर
54 पाठक संख्या

कलैया । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले बारा जिल्लाको शैक्षिक अवस्था अपेक्षाकृत कमजोर रहेको देखाएको छ। जिल्लामा सहभागी कुल विद्यार्थीमध्ये ४६.५४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् भने बाँकी ठूलो संख्यामा विद्यार्थी नन–ग्रेडेड भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार यस वर्षको नतिजा साधारण तथा प्राविधिक धार छुट्टाछुट्टै रूपमा विश्लेषण गरिएको हो। साधारण धारमा जिल्लाभर ८ हजार ३ सय ७७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ हजार ८ सय ९९ विद्यार्थी मात्र ग्रेड प्राप्त गर्न सफल भए, जुन ४६.५४ प्रतिशत हो। बाँकी ४ हजार ४ सय ७८ विद्यार्थी नन–ग्रेडेड भएका छन्।

यस धारमा उत्कृष्ट नतिजा भने न्यून देखिएको छ। केवल ५ जना विद्यार्थीले मात्र ४.० जीपीए हासिल गरेका छन्। प्राविधिक धारतर्फ ३ सय ७६ विद्यार्थी सहभागीमध्ये १ सय ८९ जना अर्थात् ५०.२६ प्रतिशत उत्तीर्ण भएका छन्। यहाँ १ सय ८७ विद्यार्थी नन–ग्रेडेड भएका छन्, जसले साधारण धारभन्दा केही राम्रो नतिजा देखाएको छ।

स्थानीय तह अनुसार हेर्दा कलैया उपमहानगरपालिकाले सबैभन्दा धेरै उत्तीर्ण विद्यार्थी उत्पादन गरेको छ। यहाँ २ हजार १ सय १८ मध्ये १ हजार २ सय ८० विद्यार्थी उत्तीर्ण भएका छन्।

जितपुरसिमरा उपमहानगरपालिकामा १ हजार ६ सय मध्ये ९ सय, निजगढ नगरपालिकामा ६०४ मध्ये २४२, कोल्हवीमा ४०० मध्ये १३२, बारागढीमा १९५ मध्ये ९४, सिम्रौनगढमा ५३९ मध्ये २४५, पचरौतामा १४३ मध्ये ४४ र महागढीमाईमा ७६४ मध्ये ३१० विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसैगरी अन्य स्थानीय तहमा पनि मिश्रित नतिजा देखिएको छ—करैयामाईमा ३९ मध्ये १५, सुवर्णमा २५८ मध्ये ६२, देवतालमा १८८ मध्ये ५७, प्रसौनीमा ३०० मध्ये ५८, फेटामा २४७ मध्ये ११८, विश्रामपुरमा १३८ मध्ये २६, परवानीपुरमा ३७३ मध्ये १४८ र आदर्शकोतवालमा २०८ मध्ये ९१ विद्यार्थी उत्तीर्ण भएका छन्।

जिल्लाभर ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ३०६ जना रहेका छन्। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने १ हजार ५४ जना र २.८ देखि ३.२ जीपीए ल्याउने १ हजार ५ सय ३५ विद्यार्थी रहेका छन्।

साझा गर्नुहोस्