कलैया । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा छोटी भन्सारको शुक्रबार छडके अनुगमन गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेको वीरगञ्ज भन्सार कार्यालय पर्साअन्तर्गत रहेको सो भन्सारको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले छड्के अनुगमन गरेका हुन्।
भन्सार परिसरमा प्रदीप साह नाम गरेका ब्यक्तिको खानतलाशी गरिएको थियो। साहले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई एक दिने पास इजाजत लिन आएका सेवाग्राहीसँग रकम असुली गगरेका थिए। खानतलासीका क्रममा उनको खल्तीबाट नगद रकम फेला परेपछि प्रमुख जिल्ला अधिकारी मिश्रले उनलाई चेतावनी दिएका छन्।
भन्सार कार्यालयमा ३४६०१ देखि ३४६५० नम्बरसम्मका बिल फेला नपरेको भन्दै प्रजिअ मिश्रले चासो व्यक्त गरेका थिए। उनले हराइरहेका बिल तत्काल खोजी गरी सुरक्षित रूपमा राख्न निर्देशन दिएका छन्। साथै बिल क्रमशः काट्ने तथा कार्यालयका अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नसमेत उक्त अवसरमा प्रजिअ मिश्रले निर्देशन दिएका छन्।
भन्सार क्षेत्रमा अनधिकृत रूपमा रकम उठाउने गतिविधिबारे लामो समयदेखि गुनासो थियो। गुनासोलाई दृष्टिगत गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले छड्के अनुगमन गरेका हुन्। सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा गैरकानुनी रूपमा रकम असुल्ने कार्य सह्य नहुने चेतावनी सिमेत दिए।
उक्त अनुगमनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवँर, सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल,राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सरोज निरौला तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म माटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष अधिकारी लगायतको सहभागिता रहेको थियो।





