बारामा लागुऔषध सेवनकर्ता खोजी अभियान सुरु,सीमाक्षेत्रबाट शंकास्पद व्यक्तिको कीटमार्फत परीक्षण

गढिमाइ खबर
34 पाठक संख्या

कलैया । बारा जिल्लामा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीले सीमाक्षेत्र केन्द्रित विशेष अभियान सुरु गरेको छ। “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत शुक्रबारदेखि कलैया उपमहानगरपालिका–१० मटिअर्वाबाट शंकास्पद व्यक्तिको कीटमार्फत परीक्षण थालिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाराले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत अभियान सञ्चालनमा ल्याएको जनाएको छ। सीमावर्ती नाकामा लागुऔषध परीक्षण केन्द्र स्थापना गरी नियमित निगरानी तथा परीक्षण गरिने प्रहरीले जनाएको छ।

अभियानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले लागुऔषध दुव्र्यसन सामाजिक चुनौतीका रूपमा फैलिँदै गएको उल्लेख गर्दै यसको नियन्त्रणमा समुदायको सहभागिता अपरिहार्य रहेको बताए।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले अभियानलाई सकारात्मक सुरुवातको संज्ञा दिँदै लागुऔषध प्रयोगकर्ताका लागि उपचार, परामर्श र पुनःस्थापनासहितको एकीकृत सेवा केन्द्र आवश्यक रहेको बताए। उनले स्थानीय तह र सुरक्षा निकायबीच समन्वय अझ प्रभावकारी बनाउन आग्रह गरे।

कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले सीमाक्षेत्रमा हुने आवतजावतलाई निगरानीमा राख्न स्थानीयवासीको सहयोग आवश्यक पर्ने बताए। उनले आगामी आर्थिक वर्षमा अभियान सञ्चालनका लागि नगरपालिकाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कसौधीले युवापुस्तामा बढ्दो लागुऔषध प्रयोगले सामाजिक तथा आर्थिक असर बढाएको बताए। उनका अनुसार लागुऔषध दुव्र्यसनले चोरी, हिंसा, घरेलु कलहलगायत आपराधिक गतिविधि बढाउने जोखिम रहेको छ।

“सेवनकर्तालाई अपराधीका रूपमा मात्र होइन, सुधार र पुनःस्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्नुपर्छ,” उनले भने, “विद्यालय, कलेज र समुदायस्तरमा जनचेतना अभिवृद्धिसँगै प्रहरी–समुदाय सहकार्य बलियो बनाउन आवश्यक छ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, सञ्चारकर्मी तथा युवाहरूको सहभागिता रहेको थियो। प्रहरीले अभियानलाई जिल्लाभर विस्तार गर्दै २४सै घण्टा निगरानी र नियन्त्रण प्रणाली सक्रिय बनाइने जनाएको छ।

साझा गर्नुहोस्