कलैया : अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको) का तत्कालीन सचिव आसमहम्मद अन्सारी उपर आरोप पत्र दायर गरेको छ।
अख्तियारका प्रवक्ता नरहरी घिमिरेले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी अन्सारी उपर विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन्।
विभिन्न आर्थिक वर्षमा गा.वि.स.मा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको विज्ञप्तिमा जनाएको हो।
साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन सचिव आस महमद अन्सारीले साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर बारा (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ।
उनले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको अख्तियारले पाएको जनाएको छ। १२१ जना उपभोक्ताहरुबाट लिएको आ.ब.२०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार पाँच सय रुपैयाँ साविक गा.वि.स.को धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्निौयत राखी निज आस महमद अन्सारीले हिनामिना गरेको जनाइएको छ।
अख्तियारको दुरुपयोग गरेकोले अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ३८लाख ३० हजार पाँच सय रुपैयाँ कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन माग दावी अख्तियारले गरेको छ।
सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन साथै निजले उक्त धरौटी वापत बिभिन्न १२१ जना व्यक्तिहरुसँग लिएको रकमको विवरण सहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको/नोक्सान गरेको पुष्टि भएको जनाइएको छ।
अख्तियारले अन्सारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना सजाय समेतको माग दावी गरेको हो।









