रौतहटमा कर्फ्यू आदेश जारी

गढिमाइ खबर
238 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार मिति २०८२ साल फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।

‎प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम कर्फ्यू घोषणा गरिएको उल्लेख छ। आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

‎कर्फ्यू लागू गरिएको क्षेत्र गौर नगरपालिकाभित्र पर्ने निम्न स्थानहरू रहेका छन्:

‎पूर्व: मुडवलवा गेट

पश्चिम: लालबकैया बाँध

‎उत्तर: बम नहर

‎दक्षिण: गौर भन्सार कार्यालय

‎प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न तथा अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यकताअनुसार थप निर्णय लिने जनाएको छ।

‎रौतहट जिल्लामा पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेपछि उक्त कदम चालिएको बुझिएको छ।

साझा गर्नुहोस्