नेपाल मुस्लिम संघद्वारा निर्वाचन प्रचार–प्रसार समिति गठन गर्न निर्देशन

गढिमाइ खबर
131 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

श्यामबाबु यादव
‎ काठमाडौँ, १७ माघ
‎ नेपाल मुस्लिम संघले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै केन्द्रदेखि वडा तहसम्म निर्वाचन प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएको छ।

‎संघका केन्द्रीय महासचिव प्रवेज आलम अंसारीद्वारा जारी परिपत्रअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतसहित विजयी गराउने उद्देश्यले संघका सबै संगठनात्मक तहमा प्रचार–प्रसार समिति गठन गर्न अनुरोध गरिएको हो।

‎नेपाली काँग्रेस केन्द्रीय प्रचार–प्रसार समितिले २०८२ माघ १४ गते सबै भातृ तथा शुभेच्छुक संस्थालाई केन्द्रदेखि वडा तहसम्म प्रचार–प्रसार समिति गठन गर्न निर्देशन दिएअनुसार नेपाल मुस्लिम संघले पनि सोही बमोजिम प्रक्रिया अघि बढाएको जनाएको छ।

‎परिपत्रमा प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा तहमा आ–आफ्नो स्तरअनुसार निर्वाचन प्रचार–प्रसार समिति गठन गर्न भनिएको छ। साथै, प्रत्येक तहमा गठन हुने समितिमा संयोजकसहित कम्तीमा थप तीन जना सम्पर्क व्यक्ति रहनेछन्, जसमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।

‎गठन भएका समितिका संयोजक तथा सम्पर्क व्यक्तिहरूको नाम, ठेगाना, मोबाइल तथा व्हाट्सएप नम्बर संघका केन्द्रीय महासचिव प्रवेज आलम अंसारीलाई अविलम्ब उपलब्ध गराउन आग्रह गरिएको छ।

‎निर्वाचन अवधिभर सबै तहका प्रचार–प्रसार समितिले पार्टीको सम्बन्धित प्रचार संयन्त्रसँग समन्वय गरी उम्मेदवारको पक्षमा सक्रिय रूपमा प्रचार–प्रसार गर्ने र माथिल्लो तथा तल्लो तहबीच निरन्तर समन्वय र सम्पर्कमा रहने निर्देशन दिइएको छ।

‎यसैबीच, नेपाल मुस्लिम संघको केन्द्रीय कार्य समितिको बैठक छिट्टै बसेर केन्द्रीय निर्वाचन प्रचार–प्रसार समिति गठन तथा निर्वाचनसँग सम्बन्धित समग्र रणनीति तय गर्ने महासचिव प्रवेश आलम अन्सारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीका सबै उम्मेदवारलाई आ–आफ्नो क्षेत्रबाट विजयी गराउन संघले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास केन्द्रीय कार्य समितिले व्यक्त गरेको छ।

साझा गर्नुहोस्