सिम्रौनगढ नगरपालिकामा १६६ करार कर्मचारी भर्नामार्फत करिब ३ करोड हिनामिनाको खुलासा

गढिमाइ खबर
113 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा, १४ मंसिर/

 सिम्रौनगढ नगरपालिकामा करार कर्मचारी नियुक्तिका नाममा व्यापक अनियमितता र आर्थिक हिनामिना भएको महालेखा परीक्षकको प्रतिवेदनबाट खुलासा भएको छ। नगर प्रमुख किशोरी साह कलवार, कार्यकारी प्रमुख (निमित्त) महेश कुमार मिश्र तथा जयनारायण राय यादवको मिलोमतोमा १६६ जना करार कर्मचारी राखी रु. २ करोड ९९ लाख ५६ हजार २ सय ९ रुपैयाँ खर्च गरिएको प्रतिवेदनले औंल्याएको छ।

महालेखा प्रतिवेदनअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ ले स्थानीय तहलाई संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा मात्र स्थायी प्रकृतिको कामका लागि दरबन्दी प्रस्ताव गर्न अनुमति दिन्छ। ऐनले अस्थायी दरबन्दी सृजना गर्न नपाइने र सेवा करारबाट लिइने कर्मचारी संख्यामा स्पष्ट सीमा राखेको छ। तर नगरपालिकाले यो कानूनी प्रावधान उल्लंघन गर्दै विभिन्न पदमा ठूलाे मार्फत १६६ कर्मचारी करारमा नियुक्त गरेको भेटिएको छ।

करार कर्मचारी भर्नामा न त कानूनी प्रक्रिया पालना गरिएको पाइयो, न त नगरपालिकाको कार्यभार, संरचना वा आवश्यकता विश्लेषण गरिएको प्रमाण उपलब्ध छ। प्रतिवेदनले करिब ३ करोड रुपैयाँ बराबरको खर्च कुनै वैधानिक आधारबिना गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

सुरुदेखि नै कर्प्सनको जालो

सिम्रौनगढ नगरपालिका स्थापना भएयता नै व्यापक भष्ट्राचार, गैरकानुनी भर्ना र सार्वजनिक रकम दुरुपयोगका घटनाहरू दोहोरिरहेको स्थानीयवासीहरू बताउँदै आएका छन्।
नगरपालिकाका निकै कर्मचारी अहिले विशेष अदालतमा चलिरहेको भष्ट्राचार मुद्दा खेपिरहेका छन्।
महालेखाको यो प्रतिवेदनले नगरपालिकामा लामो समयदेखि कायम रहेको सिन्डिकेट शैलीको निर्णय, पदाधिकारीको स्वेच्छाचारिता र सार्वजनिक रकम दुरुपयोग फेरि एकपटक उजागर गरेको छ।

प्रतिवेदनले नगरपालिकालाई तत्काल स्पष्टीकरण माग्ने, अवैध खर्च फिर्ता गराउने र जिम्मेवार पदाधिकारीमाथि कानूनी कारबाही अघि बढाउन सरकारलाई सुझाव दिएको छ।

साझा गर्नुहोस्