कलैया उपमहानगरमा चटपटे, पानीपुरी, चाट, बासी तथा सडेगलेको खाद्य पदार्थ बिक्री बितरणमा लगाइयो प्रतिबन्ध

गढिमाइ खबर
229 पाठक संख्या

कलैया : पर्साको बीरगञ्जमा फैलिएको हैजा रोगको संक्रमणलाई दृष्टिगत गरी बाराको कलैया उपमहानगरपालिकाले चटपटे, पानीपुरी, चाट, बासी तथा सडेगलेको माछा जस्ता खाद्य पर्दाथ बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले सोमबार एक सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएका हुन्।

कलैया उपमहानगर क्षेत्र भित्र होटेलको खाद्य पर्दाथहरु सफा र सुरक्षित रुपमा भण्डारण गरी बेचबिखन गर्नुपर्ने छ उक्त सूचनामा भनिएको छ। दिशा पिसाब गर्दा चर्पीको मात्र प्रयोग गर्नुपर्ने छ। दिशा पिसाब जथाभावि गर्न पाईने छैन। खाना खानु भन्दा पहिला साबुन पानीले राम्ररी हात धुनुपर्ने छ।

सफा पानी(सके सम्म उमालेको) र सफा खानाको प्रयोग गर्नुपर्ने छ। सडेगलेका र बासी खानेकुरा खानु हुदैन लगायतको बुँदाहरु बजार क्षेत्रमा पुर्ण रुपमा पालना गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ।

वीरगञ्ज महानगरपालिका संग छिमेकी उपमहानगरपालिका अन्र्तगतमा समेत उक्त रोग फैलिन सकिने जोखिम उच्च रहेकोले कलैया उपमहानगरपालिकाबासीलाई अत्यन्त सावधानीपुर्वक बस्न सूचित गरिएको छ।

उक्त बुँदा पालना नगर्नेलाई अनुगमन तथा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय बारालाई अनुरोध गरिएको छ। सबै वडा कार्यालयलाई अनुगमन र नियन्त्रण गर्न निर्देशन दिईएको छ।

स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, निजी अस्पताल, क्लिनिक लगायतकालाई सतर्क रहन उपमहानगरपालिकाले निर्देशन दिएको छ। नगर प्रहरी समेत परिचालन गर्न बाताबरण शाखालाई उपमहानगरपालिकाले आदेश दिएको छ।

साझा गर्नुहोस्