वीरगन्ज : एक किशोरीलाई बन्दक बनाएर बलत्कार गरेर फरार दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
करिब तीन महिना किशोरीलाई वीरगन्जस्थित एक लजमा बन्दक बनाएर राखी पटक पटक बलत्कार गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेहरुमा वीरगन्ज १३ मा रहेको मोटरसाइकल वर्कशपका सञ्चालक पर्सा बहुदरमाई नगरपालिका नपा २ का ४० वर्षीय नेक महमद र सोही वर्कशपमा कार्यरत रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले बताए ।
पर्साकी १७ वर्षीया किशोरीलाई उनीहरुले गत बैशाख २० गते बाटोबाट नियन्त्रणमा लिएर वीरगन्ज १० मा रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लाको कोठामा राखेर तीन दिनसम्म बन्धक बनाएर पटक पटक बलत्कार गरेको आरोेप छ ।
प्रहरीको अनुसार उनीहरुले किशोरीलाई तीन दिनसम्म उक्त होटलको कोठामा राखेको र त्यसपछि ती किशोरीलाई गत वैशाख २३ गतेका दिन वीरगन्जकै घडिअर्वा पोखरी नजिक छाडेर फरार भएका थिए ।
किशोरीको उजुरीको कै आधारमा उनीहरु प्रहरीले अनुसन्धान जारी राखेको थियो । अनुसन्धानकै क्रममा तीन महिनापछि मंगलबार दिउँसो दुबै जनालाई वीरगन्ज १५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको डीएसपी लम्सालले जानकारी गराए ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय ‘अपहरण तथा शरीरबन्धक’ र ‘बाल यौन दुव्र्यवहार’ सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भई रहेको डीएसपी लम्सालले बताए ।









