रौतहटको गरुडामा भीषण आगलागी,सात घर जलेर नष्ट,लाखौंको क्षति

गढिमाइ खबर
244 पाठक संख्या

रौतहट :करणकुमार मिश्र /रौतहटको मध्यभाग गरुडा नगरपालिका–४ गरुडा स्थित तरकारी बजारमा भीषण आगलागी भएको छ। आगलागी बाट सात घर जलेर नष्ट भएको छ।

खाना पकाउने क्रममा शुक्रबार विहान फुसको छाना भएको घरमा संचालन गर्दै आएका पसलमा आगो सल्केर सात वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ। करिव १३ लाख २० हजार बराबरको सम्पति क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भीषण आगलागीले घर भित्र रहेका ग्याँस सिलिण्डर विष्फोट भएको कारण आगो नियन्त्रण बाहिर गएको थियो। यसपछि सदरमुकाम गौरबाट बारुण यन्त्र,नेपाल प्रहरी स्थानीय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

आगलागीका कारण सातवटै घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा राखिएको विभिन्न सामान समेत जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आगलागी बाट गरुडा–८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा १ लाख,जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख,राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार,गरुडा –४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख,कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नगरपालिका–९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरेर १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले साझेदारी दैनिकलाई जानकारी दिए।

आगलागीबाट घरमा राखिएको दुईवटा ग्याँस सिलिण्डर विष्फोट भएको छ। मानवीय क्षती नभएको भएको र आगलागीमा भौतिक क्षति मात्र भएको डिएसपी रायले बताए ।
आगलागी भएको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

गरुडा नगरपालिकाको (सानो) आगो निभाउने वारुणयन्त्र दुर्भाग्य बस काम नलागेपछि स्थानीयहरु मेयर प्रति आक्रोश पोखेका छन् । सस्तो लोकप्रियताका लागि बजेट दुरुपयोग गर्ने तर सामाजिक हितमा काम लाग्ने बारुण यन्त्र खरिद तर्फ कुनै चासो नराख्दा नगरवासीहरु उनको आलोचना समेत गरेको छ ।

यता नगर प्रमुख कन्थमनी प्रसाद कलवार संग बारुण यन्त्रको विषयमा बुझ्दा आफुहरु बारुण यन्त्र खरिदका लागि तीन पालिका प्रमुखहरु एक ठाउमा बसेर कुरा गरिसकेको जानकारी दिएका छन्। चाडैं खरिद प्रक्रियामा अगाडि बढ्ने उनले बताए ।

साझा गर्नुहोस्