वीरगञ्जको मुख्य सडक भत्काउन सडक डिभिजन हेटौंडाले दुई तीन दिनमै बैठक बोलाउने

गढिमाइ खबर
274 पाठक संख्या

वीरगञ्ज : सडक डिभिजन हेटौंडाले वीरगञ्जको मुख्य सडक भत्काउन दुई तीन दिनमै बैठक बोलाउने जनाएको छ।

उक्त सडक फराकिलो पार्नको लागि अदालतको फैसला कुरेर बसेको कार्यालयले मुद्दा खारेज गरेपछि सडक भत्काउने कुरालाई लिएर बैठक बोलाउन लागेको हो ।

अगामी दुई तीन दिनमै वीरगञ्जको मुख्य सडक भत्काएर फराकिलो पार्ने बिषयमा बैठक बोलाउन लागेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सडक फराकिलो गर्ने बारेमा सम्बन्धित सरकारी समन्वयको बैठक बोलाइने छ।

बैठकमा कानुनी अडचन हटेको बारेमा छलफल हुने र वीरगञ्जको मुख्य सडकलाई लिएर पनि छलफल गरिने अधिकारीको भनाइ छ।कार्यालयले लामो समयदेखि सूचना जारी गरि पटकपटक सडकको दायाँबायाँ २५/२५ मिटर भत्काउन भनेपनि स्थानीयले भत्काउन दिएका थिएनन् ।

साथै उनीहरुले सर्बोच्च अदालतमा मुद्दा समेत दायर गराएका कारण सडक फराकिलो हुन सकेको थिएन ।तर गएको फागुन २८ गते सडक विस्तार विरुद्ध परेको छुट्टाछुट्टै मुद्दाको सुनुवाइ गर्दै अदालतले मुद्दा खारेज गरेको थियोे। मुद्दा खारेज भएपछि सडक फराकिलो पार्ने कानुनी अडचन हटेको छ।

त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक,घण्टाघर,आदर्शनगर,रजत जयन्ती चोक,शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दा सर्वोच्चले खारेज गरेको हो।

त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गरिसकेको छ।

सर्वोच्चमा परेको मुद्दाकै कारणले सडक बिस्तार हुन सकेको थिएन। वीरगञ्जको मुख्य सडकनै फराकिलो हुन नसक्दा दैनिक रूपमा जामको समस्या नगरबासी र आम सर्ब साधारणहरुले खेप्दै आएका थिए ।

मुद्दाको खारेजीसंगै सडक पनि बिस्तार गर्ने बाटो खुल्ला भएपछि सडक चौडा हुने आश आम सर्ब साधारणले गरेका छन् ।

साझा गर्नुहोस्