रौतहटमा अपराधिक क्रियाकलापमा कमी,तीन सय छयालीस फरार प्रतिवादी पक्राउ

गढिमाइ खबर
191 पाठक संख्या

रौतहट : ओमप्रकाश यादव/ रौतहट प्रहरीले साढे छ महिनामा तीन सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत गौरबाट दण्ड सजाय तोकिएर लामो समयदेखी फरार रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गर्ने अभियान सञ्चालन गरेको छ।

लुकीछिपी बस्दै फरार रहँदै आएका कारण रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुलाई फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गर्न निर्देशन दिएका थिए।

एसपी घिमिरेको ठाडो निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो।

साउन, भदौ, असोज, कार्तिक, मंसिर, पुस र माघ महिनाको १५ गतेसम्मको अवधीमा विभिन्न मुद्दामा फरार उनीहरुलाई प्रहरीलेपक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका हुन्।

आर्थिक वर्ष २०८०/०८१ को सोही अवधीको भन्दा आर्थिक वर्ष २०८१/०८२ मा ८१ जना बढी प्रतिवादीलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याइएको एसपी घिमिरेले साझेदारी दैनिकलाई बताए । गत आर्थिक वर्षको साढे ६ महिनामा ३ सय ९ अभियुक्तलाई पक्राउ गरिएको थियो।

माघ १५ गते रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादीलाई पक्राउ गरेको थियो। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

हातहतियार तथा खरखजाना,कुटपिट तथा गाली बेइज्जती,चोरी,सवारी ज्यान सम्बन्धी कसुर,ज्यान मार्ने उद्योग,कुटपिट,बिगो,किर्ते जालसाजी लगाएत मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एसपी दिलीप घिमिरे रौतहट आएदेखी नै जिल्लाको शान्ति सुरक्षा सुदृढ भइ अपराधिक क्रियाकलापमा कमी आउन थालेको स्थानीय नागरिकहरुले बताएका छन्। प्रहरीले अपराधि माथी कडा रुपमा प्रस्तुत भएको छ।

भारतसंगको सिमा क्षेत्रमा जाँच कडाइ गरेको तथा जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारेपछि पछिल्लो समय जिल्लामा चोरी,डकैती,लुटपाट,हत्या,हिंसा,बलात्कार,जघन्य अपराध लगाएतका अपराधिक क्रियाकलपमा कमी आएको छ।

साझा गर्नुहोस्