गढीमाई संवाददाता/
बारामा धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा एक पुर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको छ ।
भेटिएको शव जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती बस्ने ३३ वर्षीय अमरेश कुमार सिंहको रहेको प्रहरीले जनाएको छ ।
उनको शव हत्या गरिएको अवस्थामा दशगजा क्षेत्र नजिकै फेला परेको हो । उक्त घटना स्थलमा बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले आफै पुगेका थिए ।
शव भेटिएका अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको निशान देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतो गरी दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
सिंहकाे हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सन्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।