बीरगञ्ज भन्सार कार्यालयले बितेको आर्थिक बर्ष २०७८/७९ मा भन्सार बिभागबाट पाएको राजश्व लक्ष्य पुरा गर्न सफल भएको छ ।
मुलुक मुख्य आर्थिक नाका रहेको वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक बर्षमा २ खर्ब चार अर्ब १२ करोड २७ लाख ५६ हजार बराबरको राजश्व संकलन गरेको छ । यस आर्थिक बर्षमा वीरगञ्ज भन्सार नाकाले भन्सार बिभागबाट २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो ।
गत आर्थिक बर्षमा बिभागबाट पाएको लक्ष्य भन्दा वीरगञ्ज भन्सार कार्यालयले ० दशमलव ५ प्रतिशत बढी नै राजश्व सँकलन गरेको कार्यालयले जारी गरेको तथ्याँकमा उल्लेख रहेको छ । कार्यालयले सबै भन्दा बढी बिदेशबाट आयात हुने वस्तुहरुबाट असुल गरिने भन्सार महसुलबाट ७३ अर्ब ३० करोड ७५ लाख ५ हजार राजश्व रकम उठाएको छ ।
यस्तै अन्तःशुल्कबाट १९ अर्ब ६४ करोड ९१ लख ४ हजार,पुर्वाधार करबाट १६ अर्ब ८६ करोड ४३ लाख ४६ हजार राजश्व संकलन गरेको भन्सारको तथ्याँकमा जनाइएको छ । सडक निर्माण तथा संम्भार दस्तुरबाट चार अर्ब ५८ करोड ५२ लाख ६४ हजार,सडक मरम्मत तथा सुधार दस्तुरबाट चार अर्ब १९ करोड तीन लाख ६३ हजार, कृषि सुधार शुल्कबाट एक अर्ब ३४ करोड ९४ लाख ७३ हजार राजश्व बितेको आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयले सँकलन गरेको छ ।
गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा भने वीरगञ्ज भन्सार कार्यालयले ९९ दशमलव ६ प्रतिशत राजश्व मात्रै सँकलन गर्न सकेको थियो । उक्त आर्थिक बर्षमा कोरोना महामारीका कारण भन्सार कार्यालयबाट हुने आयात घटेका कारणले वीरगञ्ज भन्सारले राजश्व लक्ष्य पुरा गर्न असफल भएको थियो ।