राम मण्डल /
पर्सामा आफै कार्यरत रहेको लघुबितबाट नक्कली ऋणीको नाममा किर्ते हस्ताक्षर र नक्कली कागजात तयार पारि करोडौ रकम हिनामिना गर्ने शाखा प्रबन्धकसहित चार जना कर्मचारीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पर्साको पर्सागढी नगरपालिकाको बढनिहारमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बढनिहारका शाखा प्रबन्धक रौतहट चन्द्रपुर नगरपालिका–४ का भोजेन्द्र ठाकुर लोहार, कर्मचारीहरु पर्साको पर्सागढी नगरपालिका–७ का गेनालाल पटेल,वीरगञ्ज महानगरपालिका–२७ का प्रदिप कुमार पटेल र शेषनाथ कुशवाहासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रबन्धक लोहारसहित चारैजनाले विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारी बिना उनीहरूको नामको नक्कली ऋण आवेदन र कागजात तयार गरी ऋण स्वीकृत गरी आफैँले रु पाँच करोड ३४ लाख ५५ हजार ४ सय ७९ रपैया ३ पैसा हिनामिना गरेका थिए ।
रकम हिनामिना भएपछि लघुबितको केन्द्रिय कार्यालयबाट पर्सा प्रहरीमा चारैजना बिरुद्ध जाहेरी परेको थियो ।जाहेरी परेपछि चारैजनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा उनीहरुले लघुबितको कुल पाँच करोड ५७ लाख ४२ हजार २७४ रुपैया हिनामिना गरेको भनि खुल्न आएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
शाखा प्रबन्धक लोहारले अन्य कर्मचारीहरूको सहयोगमा विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारी बिना उनीहरूको नामको नक्कली ऋण आवेदन र कागजात तयार गरी आफैले ऋण स्वीकृत गरी आफैँले रकम निकालेको भनि खुलेको उनले बताए ।
चारैजनलाई उच्च अदालत अस्थायी ईजलाश वीरगञ्जको आदेशले कारागार चलान गरिएको खनालले बताए ।
शाखा प्रबन्धक लोहारलाई अदालतले कारगार चलान गरेको तथा अन्य तीन जना कर्मचारीहरुलाई जनही एक एक करोड धरौटी तोकिएकोमा बुझाउन नसक्दा उनीहरुलाई पनि कारगार चलान भएको पर्सा प्रहरीले जनाएको छ ।अनुसन्धानको क्रममा अन्य तीन जना पनि पक्राउ परेकोमा उनीहरु छुटेको प्रहरीले जनाएको छ ।