पचरौता नगरपालिकामा भ्रष्टाचारको नमूना : भ्रमण खर्चमै ३४ लाख रुपैयाँ स्वाहा !

गढिमाइ खबर
23 पाठक संख्या

बारा/युवाहरू जागृत भएपछि भ्रष्टाचार, उत्पीडनका चट्टानहरू ढाल्न र स्वतन्त्रताको झन्डा उठाउन सक्षम हुन्छन्, भनिन्छ । भदौ २३ र २४ दुई दिनको जेन–जी आन्दोलनले नेपालको भ्रष्ट सत्तालगायत शीर्षनेताहरू ढाल्न र परिवर्तनको झन्डा उठाउन सफल भई मुलुकमा भ्रष्टाचार रहित सुशासन र बिकाशको अपेक्षामा नयाँ सरकार गठन गर्न सफल भए ।

तर सङ्घीयता जनताको घर आँगनमा आएदेखि भ्रष्टाचारको मूल जडो बनेको स्थानीय तहमा नियमनकारी निकायको कार्यशैली चुस्त नहुँदा भ्रष्टाचारजन्य क्रियाकलाप झन् बढिरहेको देखिन्छ । जसको एउटा ठुलो उदाहरण बनेको छ, बाराको पचरौता नगरपालिका ।

पचरौता नगरपालिकामा भ्रमण ३४ लाख बढी खर्च देखाई भ्रष्टाचार भएको पाईएको छ । नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार,प्रमुख प्रशासकिय अधिकृत वसन्त राज जोशी र लेखा प्रमुख हासिम मिया अंसारी लगायतको मिलेमतोमा आर्थिक वर्ष २०८१/०८२ मा कर्मचारी तथा पदाधिकारीको भ्रमणमा ३४ लाख ४४ हजार रुपैयाँ खर्च देखाई अनियमितता भएको छ । भ्रमण शिर्षकमा सो खर्च देखाईए पनि अधिकांश भ्रमणको स्पष्ट प्रयोजन र उद्देश्य नखुलाई ७ दिनको अवधि राखेर भ्रमण खर्च देखाई अनियमितता भएको हो ।

मधेश प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम पालिकाको काममा कर्मचारी तथा पदाधिकारीलाई भ्रमण खर्च भुक्तानी गरेको देखाईए पनि भ्रमण खर्चको व्यवस्थापनमै आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको छ।
जस्तै,
१.नियमानुसार भ्रमण अभिलेख खाता नरहेकाले पदाधिकारी तथा कर्मचारीको भ्रमण सम्बन्धी एकीकृत विवरण प्राप्त हुन नसकेको,
२.भ्रमण पश्चात् तोकिए बमोजिम भ्रमण प्रतिवेदन पेश नगरी अधिकांश भ्रमणको भ्रमण खर्च भुक्तानी गर्ने गरेको,
३.स्वास्थ्य तर्फका भ्रमण आदेश सम्बन्धित स्वास्थ्य चौकी प्रमुखले स्वीकृत गरी पठाउने गरेको,
४.भ्रमण खर्च व्यहोर्ने निकाय नखुलाएकोले दोहोरो भुक्तानी हुन सक्ने अवस्थालाई नियन्त्रण नगरेको,
अत ः स्पष्ट प्रयोजन र उद्देश्यबिना अधिकांश भ्रमणका लागि ७ दिनको अवधि राखिएको र सोही आधारमा भ्रमण खर्च भुक्तानी गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यसले समेत मेयर जलन्धर सिंह जैसवार, अधिकृत वसन्त राज जोशी र लेखा प्रमुख हासिम मिया अंसारी लगायतको मिलेमतोमा भ्रमण शिर्षकमा प्रयोजन र उदेश्य बेगर कागजी मिलानमा अनियमितता गरिएको स्थानीयको आरोप पुषटी हुन्छ ।
भ्रमणको उद्देश्य, प्रयोजन, अवधि र आवश्यकतासहितका विवरण यकिन बेगर खर्च देखाइएको ३४ लाख ४४ हजर रुपैयाँमा अनियमितता भएको झन स्पष्ट देखिन्छ ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त राज जोशीले उक्त भ्रमणको फाइल नहेरी केही प्रतिक्रिया दिन नसक्ने बताएका छन् ।
त्यसैगरि नगर प्रमुख जलन्धर सिंह जैसवारले धम्की शैलीमा कुरा पालिकालाई बदनाम नगर्नुस भन्दै भ्रमण खर्चको बारेमा प्रतिक्रिया दिन मानेनन् ।

 

साझा गर्नुहोस्