कलैयामा बजेट लुटको नयाँ खेल : एउटै घरबाट ११ लाखका तीन तालिम, अनुगमन शून्य

गढिमाइ खबर
60 पाठक संख्या

एउटै समूहलाई तीन कार्यक्रम, सहभागीभन्दा बजेट ठूलो—योग्यता नहेरी प्रशिक्षक, उपमहानगरपालिकाको निगरानी संयन्त्र नै प्रश्नको घेरामा

कलैया, ६ असार।

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने हतारमा रहेको कलैया उपमहानगरपालिकामा सीपमूलक तालिमका नाममा अर्को गम्भीर अनियमितता सार्वजनिक भएको छ।

झण्डै ११ लाख रुपैयाँ बराबरका तीनवटा फरक तालिम कार्यक्रम एउटै निजी घरबाट सञ्चालन गरिएको भेटिएपछि बजेट खर्चलाई मात्र प्राथमिकता दिइएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।

कलैया–१ स्थित प्रवीण प्रेस नजिक रहेको एक निजी घरबाट नगरस्तरीय ब्युटिसियन तालिम, नगरस्तरीय एडभान्स सिलाइ–कटाइ तालिम र वडा स्तरीय क्रिस्टल माला बनाउने तालिम एकैसाथ सञ्चालन गरिएको पाइएको हो। तीनवटै कार्यक्रम एउटै समूहको प्रभावमा सञ्चालन भएको आरोप लागिरहेको छ।

‎स्थलगत अनुगमनका क्रममा २ लाख ९८ हजार ८८५ रुपैयाँ बजेटको ४५ दिने ब्युटिसियन तालिममा सम्झौताअनुसार २० जना सहभागी हुनुपर्नेमा १० जना मात्र उपस्थित भेटिए। अझ कार्यक्रम सञ्चालन गरिरहेकी प्रशिक्षकसँग आवश्यक योग्यता तथा मान्यता प्राप्त प्रमाणपत्रसमेत नरहेको तथ्य खुलेको छ।

‎त्यस्तै २ लाख ९७ हजार १९० रुपैयाँ बजेटको क्रिस्टल माला बनाउने तालिममा अनुगमनका बेला न प्रशिक्षक भेटिए, न सहभागी। यसले कार्यक्रम कागजमै सीमित भएको हो कि भन्ने आशंका झन् बलियो बनाएको छ।

‎सबैभन्दा ठूलो ४ लाख ९७ हजार ७६५ रुपैयाँ बजेटको एडभान्स सिलाइ–कटाइ तालिममा पनि १२ जना सहभागी हुनुपर्नेमा ८ जना मात्र उपस्थित थिए।

कार्यक्रम सञ्चालन गरिरहेकी प्रशिक्षक नेहा कुमारी गिरि आफैं सम्झौता गर्ने संस्थाकी अध्यक्षसमेत रहेको तथ्यले स्वार्थको द्वन्द्वबारे थप प्रश्न उठाएको छ।

तालिममा प्रशिक्षकका आफन्त तथा निकट व्यक्तिहरूको सहभागिता, एउटै व्यक्तिको नाम विभिन्न कार्यक्रममा दोहोरिनु तथा सीमित समूहभित्रै कार्यक्रम बाँडिएको देखिनुले वितरण प्रक्रिया निष्पक्ष नभएको आशंका गरिएको छ।

यति ठूलो रकमका कार्यक्रम सञ्चालन भइरहँदा सम्बन्धित शाखाबाट प्रभावकारी अनुगमनसमेत नभएको खुलेको छ। सामाजिक विकास शाखा प्रमुख तपसी प्रसाद चौरसियाले कार्यक्रम सञ्चालनकै क्रममा अनुगमन गर्न नसकेको स्वीकार गर्दै प्रशिक्षकको योग्यता पुष्टि गर्ने प्रमाणपत्रसमेत सम्झौताको समयमा नलिएको बताएका छन्। उनले “गल्ती भएको छ, अब प्रमाणपत्र हेरेर मात्रै भुक्तानी हुन्छ” भन्ने प्रतिक्रिया दिएका छन्।

यद्यपि प्रशिक्षकहरूले भने सहभागीहरू व्यक्तिगत कारणले अनुपस्थित भएको र तालिम नियमित रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्। तर स्थलगत अवस्थाले उनीहरूको दाबीलाई पुष्टि गर्न सकेको देखिँदैन।

आर्थिक वर्षको अन्तिम समयमा तालिम, गोष्ठी र सीप विकासका कार्यक्रममार्फत बजेट सक्ने प्रवृत्तिमाथि यस घटनाले फेरि प्रश्न उठाएको छ।

लक्षित वर्गका लागि छुट्याइएको बजेट वास्तविक लाभग्राहीसम्म पुगेको हो वा सीमित पहुँच भएका व्यक्तिहरूकै घेराभित्र सीमित भएको हो भन्ने विषयमा निष्पक्ष छानबिनको आवश्यकता देखिएको छ।

साझा गर्नुहोस्