बारामा एकाईस किलो लागूऔषध गाँजासहित दुई जना नाबालिक पक्राउ

गढिमाइ खबर
24 पाठक संख्या

कलैया । बारा प्रहरीले २१ किलो लागूऔषध गाँजासहित दुई जना नाबालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्कुटि चालक मकवानपुरको छतिवन गाउँपालिका –४ बस्ने बुद्धिमान गोलेको छोरा अन्दाजी १३ वर्षीय सुरेन्द्र गोले र पछाडी बस्ने राकसिराङ गाउँपालिका–७ बस्ने प्रकाश गुरूङको छोरा अन्दाजी १७ वर्षीय सलमान गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका –१ पथलैया चोक ट्राफिक अफिस अगाडि प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युबराज दाहालको कमाण्डमा खटिएको चेकिङ टोलीले आइतबार राती उनीहरुलाई पक्राउ गरेको हो।

हेटौँडाबाट पथलैया तर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५७६४ नं. को स्कुटिलाई शंका लागि रोकी जाँच गर्दा स्कुटिको अगाडि खुट्टा राख्ने खाली भागमा २ वटा कालो प्लाष्टिकले बेरीइएको झोलामा लुकाई छिपाई ल्याउँदै गरेका थिए। उनीहरुलाई अन्दाजी २१ के.जि. लागूऔषध गाँजासहित पक्राउ गरिएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्।

लागूऔषध गाँजासहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट म्याद थप गराई प्रहरीले अनुसन्धान गरिरहेको छ।

साझा गर्नुहोस्