कलैया, १ वैशाख ।
बारा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ बाराका अनुसार जिल्लाभरका सबै विषयका उत्तरपुस्तिका परीक्षण स्थानीय स्तरमै सम्पन्न गरिएको हो।
इकाइका निमित्त प्रमुख अशोक कुमार रौनियारले परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको नतिजा प्रमाणीकरण गरी आजै राष्ट्रिय परीक्षा बोर्डमा पठाइने जानकारी दिनुभयो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमन्त पोखरेलको निर्देशनअनुसार एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। सोही अनुरूप बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था लागू गरेपछि काममा तीव्रता आएको हो।
यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३७७ जना परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै, २०८० र २०८१ का ग्रेड वृद्धितर्फ १ हजार ९३३ जना तथा २०७९ का ६६ जना परीक्षार्थी रहेका छन्।
प्राविधिक धारतर्फ नियमित ३७५ र ग्रेड वृद्धितर्फ ६३ गरी कुल ४३८ जना विद्यार्थीले परीक्षा दिएका छन्। यसरी जिल्लाभरबाट कुल १० हजार ८१३ जना परीक्षार्थी सहभागी भएको परीक्षामा १०२ सामुदायिक र ५३ संस्थागत विद्यालय समेटिएका छन्।









