काठमाडौं, ७ चैत/
नेपाली कांग्रेस भित्र संसदीय दलको नेतृत्वलाई लिएर नयाँ बहस सुरु भएको छ। पार्टीका सांसद तथा प्राध्यापक डा. चन्द्रमोहन यादवलाई संसदीय दलको नेता बनाउने चर्चा अहिले तीव्र बन्दै गएको छ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय अनुभव र नेतृत्व क्षमताका आधारमा डा. यादवलाई अघि सार्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन्। संविधानसभा सदस्यसमेत रहेका डा. यादव हाल कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी चिकित्साशास्त्रमा स्नातकोत्तर तथा मेडिकल साइन्समा एमडी गरेका रेडियोलोजीका प्राध्यापकसमेत हुन्।
दोस्रो पटक सांसद निर्वाचित भइसकेका डा. यादवले संसदीय अभ्यासमा आफ्नो परिपक्वता देखाइसकेको नेताहरूको दाबी छ। पार्टीभित्र उनलाई अनुभव र बौद्धिक क्षमताको सन्तुलन भएको नेताका रूपमा हेरिएको छ।
मधेशमा जनाधार फर्काउने रणनीति :
राजनीतिक विश्लेषकहरूका अनुसार, वर्तमान जटिल राजनीतिक परिस्थितिमा कांग्रेसलाई तराई–मधेश क्षेत्रमा गुम्दै गएको जनविश्वास पुनःस्थापित गर्न सक्षम नेतृत्व आवश्यक छ। उनीहरूका अनुसार डा. यादवको नेतृत्वले मधेशमा पार्टीको प्रभाव पुनर्जीवित गर्न सहयोग पुग्न सक्छ।
कांग्रेसको इतिहासमा बी.पी. कोईराला र गिरिजा प्रसाद कोईराला ले मधेशप्रति विशेष ध्यान दिएका थिए। पछिल्लो आम निर्वाचनमा गगन थापा ले पनि मधेशको राजनीतिक महत्वलाई जोड दिएका थिए।
विश्लेषकहरू भन्छन्, यदि डा. यादव संसदीय दलको नेता बनेमा पार्टीले मधेशमा गुमाएको जनाधार पुनःसुदृढ गर्न सहज हुनेछ। यस कदमलाई पार्टीभित्रका युवा नेताहरू तथा मधेशीय जनसम्पर्क सञ्जालहरूले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।
संसदमा प्रभावकारी नेतृत्वको अपेक्षा :
पार्टी स्रोतका अनुसार, डा. यादवले अनुभव, मधेशीय संवेदनशीलता र वैज्ञानिक दृष्टिकोणलाई संयोजन गर्दै संसदमा कांग्रेसको भूमिका अझ सशक्त बनाउन सक्ने विश्वास गरिएको छ। यसले पार्टीको रणनीति, संसदीय गतिविधि र सरकारसँगको समन्वयमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आगामी संसद सत्रमा उनको नेतृत्वले कांग्रेसलाई पुनः सक्रिय र प्रभावकारी बनाउनेतर्फ केन्द्रित हुने विश्वास पार्टीभित्र गरिएको छ।





