नेप्सेमा हरियाली छायो- ६४ अङ्कको उछालसँगै कारोबारमा पनि उच्च वृद्धि

गढिमाइ खबर
65 पाठक संख्या

गढीमाईखबर डेस्क

काठमाडौँ, ५ चैत/

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उल्लेखनीय रूपमा बढ्दै ६४ दशमलव ६९ अङ्कले उकालो लागेर २,८७७ दशमलव ०३ विन्दुमा पुगेको छ। यो वृद्धि २ दशमलव ३० प्रतिशत बराबर हो।

बजार खुलेदेखि नै सकारात्मक रुझान देखिएको आजको कारोबारमा अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ। नेप्सेका अनुसार २४० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २२ कम्पनी घटेका छन् भने दुई कम्पनी स्थिर रहेका छन्।

आज ३४२ कम्पनीका पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा कुल रु २१ अर्ब २२ करोडभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गर्दछ।

समूहगत रूपमा हेर्दा आज सबै सूचकहरू हरियालीमा देखिएका छन्। विकास बैंक समूह सबैभन्दा बढी ३ दशमलव ९५ प्रतिशतले बढेको छ भने बैंकिङ, जीवन बीमा, हाइड्रोपावर, फाइनान्स लगायतका अन्य समूहहरूमा पनि सकारात्मक वृद्धि देखिएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यद्यपि, नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य भने सबैभन्दा बढी ५ दशमलव १२ प्रतिशतले घटेको छ।

समग्रमा, आजको बजारले लगानीकर्तामा उत्साह थप्दै पूँजी बजारमा सकारात्मक माहोल कायम गरेको देखिन्छ।

साझा गर्नुहोस्