डुमरवानालाई फेरि राष्ट्रपति रनिङ शिल्डको उपाधि

गढिमाइ खबर
48 पाठक संख्या

रञ्जन यादव/

बाराको जीतपुरसिमरा उपमहानगरपालिका मा आयोजित पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।

चार दिनसम्म चलेको प्रतियोगितामा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक उपाधि जितेको छ।

मंगलबारदेखि सुरु भएको प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा को प्राङ्गणमा शुक्रबार समापन गरिएको हो। प्रतियोगितामा उपमहानगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो।

डुमरवानास्थित राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदनले २३ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल ३६ पदक जित्दै उपाधि हात पारेको हो। त्यस्तै नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलिया ७ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो स्थानमा रहँदा सेन्ट अल्फानस बोर्डिङ स्कूल १३ पदकसहित तेस्रो भएको छ।

समापन समारोहमा देवनारायण चौधरी र नगरप्रमुख राजन पौडेल ले विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्ने बताउनुभयो। नगरप्रमुख पौडेलले विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

यस वर्ष आर्थिक अभावका कारण धेरै सामुदायिक विद्यालय सहभागी हुन नसकेको भन्दै जयप्रकाश राय ले आगामी वर्ष सहभागिता बढाउन स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रतियोगितामा उपमहानगरभित्रका ३७ विद्यालयका १ हजार २ सय ७३ विद्यार्थी खेलाडी सहभागी भएका थिए। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथ्लेटिक्स र कबड्डी लगायतका खेल समावेश गरिएको विद्यालयका प्रधानाध्यापक शंकर आचार्य ले जानकारी दिनुभयो।

साझा गर्नुहोस्