निर्वाचन आचारसंहिता बेवास्ता ? : बारामा ११० मध्ये १५ जनाले मात्रै माने नियम

गढिमाइ खबर
165 पाठक संख्या

श्यामबाबु यादव
बारा १५ फागुन/

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाराका चार वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने ११० उम्मेदवारमध्ये हालसम्म १५ जनाले मात्रै निर्वाचन खर्च प्रयोजनका लागि अनिवार्य बैंक खाता खोलेका छन्। निर्वाचन आचारसंहिता अनुगमन समितिले उक्त जानकारी दिएको हो।

कोष तथा लेखा नियन्त्रणको कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिका अनुसार उम्मेदवारले गर्ने सम्पूर्ण आम्दानी र खर्च सोही बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ। निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन यस्तो प्रावधान लागू गरिएको उनले बताए ।

कुन क्षेत्रमा कसले खोले खाता ?

क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल र आम जनता पार्टीका विजय यादवले खाता खोलेका छन्।

क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राम किशोर प्रसाद यादव र नेपाली कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादवले खाता सञ्चालनमा ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरबिन्द साह र नेकपा एमालेका ज्वाला कुमारी साहले खाता खोलेका छन्।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ता, समुन्नत परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारी, जनता समाजवादी पार्टी नेपालका संजु साह, प्रजातान्त्रिक पार्टी नेपालका मुनि खातुन तथा स्वतन्त्र उम्मेदवारहरू संदीप यादव, बैधनाथ प्रसाद साह र मंगेश्वर पटेलले बैंक खाता खोलेका छन्।

खर्च सीमा तोकियो

निर्वाचन आयोगले बारा क्षेत्र नम्बर १ मा अधिकतम ३१ लाख रुपैयाँ र क्षेत्र नम्बर २, ३ र ४ मा अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने मापदण्ड निर्धारण गरेको छ।

कोष नियन्त्रक गिरिका अनुसार निर्वाचनमा हुने आर्थिक चलखेल रोक्न तथा खर्च नियन्त्रण गर्न उम्मेदवारको खर्च सम्बन्धी कडाइका साथ अनुगमन गरिनेछ। यस पटक निर्वाचन आयोगले अनिवार्य रूपमा निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था गरेर बढी खर्च हुन नदिने तयारी गरेको उनले बताए।

साझा गर्नुहोस्