कलैया,१८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साह घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन् ।
उनले बाराको कलैया उपमहानगरपालिका–१४ स्थित भौंरा र जितपुर टोलमा आइतबार बिहान घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । घरदैलो कार्यक्रममा इन्जिनियर साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे जानकारी गराएका छन् ।
घरदैलोका क्रममा उम्मेदवार साहले भ्रष्टाचार, बेथिति र सरकारी संरचनाभित्रको दलीयकरण अन्त्य गर्दै पारदर्शी र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् कार्यक्रममा बोल्दै साहले सडक, सरसफाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरको दीर्घकालीन समाधानका लागि आफूसँग स्पष्ट योजना समेत रहेको बताएका छन् ।
उक्त घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता, स्वयंसेवक र युवाहरूको सहभागिता रहेको थियो।









