बारा : सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट ६ लाख ३१ हजार रुपैयाँ बराबरको कपडा तथा किराना सामाग्री बरामद गरेको छ। भारतबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको ति सामाग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।
कलैया उपमहानगरपालिका वडा नं. २० बसतपुर ईलाकामा करिब तीन लाख ७५ हजार बराबरको कपडा बरामद भएको छ। भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई आँप घारीमा वेवारिसे अवस्थामा लुकाई छुपाई राखेको अवस्थामा प्रस्ताबित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिपेन्द्र रानाभाटको कमाण्डमा खटिएको टोलीले सो कपडा बरामद गरेको हो।
त्यस्तै बिश्रामपुर गाउपालिका वडा नं.३ मुसहर्वा सीमा ईलाकास्थित बिओपि बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सन्दिप के.सी.को टोलिले धोती, कुर्था र सुरुवाल बरामद गरेको छ। भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ४५ हजार पाँच सय रुपैयाँ बराबरको ४८पिस सुतीको धोती र ३ पिस कुर्था सुरुवाल बरामद गरेको हो। ल्याउने व्यक्ति त्यो सामान सोहि स्थानमा छाडि फरार भएका थिए।
त्यसैगरी कलैया ७ स्थित दुर्गा उच्च मा.वि.आसपासको क्षेत्रवाट अवैध रूपमा भारतवाट ल्याईएका किराना सामाग्रिहरू तथा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। दुई लाख ११ हजार बराबरको सामान गणवाट खटिएको टोलीले बरामद गरेको हो। बरामद गरिएका सबै समानहरू आइतबार ( आज ) भन्सार कार्यालय विरगञ्ज बुझाईने सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिए।









