कलैया : सशस्त्र प्रहरी बलले अवैध सामान बरामद गरेको छ। उसले बाराको विभिन्न स्थानहरूबाट करिब आठ लाख रुपैयाँ बराबरको अवैध ब्रोईलर कुखुरा तथा अन्य सामान बरामद गरेको हो।
मटिअर्वास्थित सीमा सुरक्षा गुल्म र कवहीगोठ बीओपीले क्रमशः कलैया उपमहानगरपालिका–१० मटिअर्वा र सुवर्णपुर–३ सन्तगंज सीमा क्षेत्रबाट अवैध २२० किलो जिउँदो ब्रोईलर कुखुरा बरामद गरेको छ। तीनवटा मोटरसाइकल बरामद गरेको छ। उक्त सामानको मूल्य करिब पाँच लाख तीन हजार चार सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बिओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक सुजल भण्डारी कमाण्डमा खटिएको टोलीले विश्रामपुर गाउँपालिका–३ मुसहर्वा सीमा क्षेत्रबाट सामान बरामद गरेको छ। ११७ र २५० पिस घुम्ने कुर्सीमा प्रयोग हुने चक्का बरामद गरेको छ। सो बरामद सामग्रीको अन्दाजी मूल्य रु. ९१ हजार ५ सय ७३ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
एफओबी बलिरामपुरबाट नायब निरीक्षक हरि प्रसाद लम्सालको कमाण्डमा खटिएको टोलीले विश्रामपुर गाउँपालिका–४ खुदिया सीमा क्षेत्रमा सामान बरामद गरेको छ। उसले भारतीय मोटरसाइकल मार्फत नेपालतर्फ ल्याइँदै गरेको रेडिमेड कपडा बरामद गरेको छ।
उक्त बरामद गरिएको कपडाको मूल्य करिब रु. १ लाख २१ हजार ५ सय रहेको छ। जिल्लाका अन्य विभिन्न स्थानहरूबाट किराना सामग्री रु. ८५ हजार बराबरको समेत बरामद गरिएको छ।
बरामद गरिएका अवैध ब्रोईलर कुखुरा नष्ट गरिएको छ। अन्य सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर केसीले साझेदारी दैनिकलाई बताए।









