प्रेस जनमत संघ बाराद्वारा पत्रकार राजुलाई कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग

गढिमाइ खबर
200 पाठक संख्या

कलैया : प्रेस जनमत संघ बारा शाखाका सचिव चन्देश्वर प्रसाद चौरसिया (राजु) लाई कुटपिट गर्नेलाई प्रेस जनमत संघ बारा शाखाले कडा कारवाही गर्न माग गरेको छ।

प्रेस जनमत संघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष अनिल पाण्डेयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी प्रशासनसंग कारवाहीको माग गरेका हुन्। केही अराजक व्यक्तिहरुको समूहले बिहिबार बिहान हत्या गर्ने कुत्सित मनसायले गरिएको कुटपिटको घटनाप्रति प्रेस जनमत संघ बारा शाखाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।

चौरसिया माथि बाराको देवताल गाउँपालिका वडा नम्बर २ गम्हरियामा सार्बजनिक जग्गामा रहेको रुख कटानको विषयमा समाचार संकलन गर्न पुगेका त्यहि उपस्थित केही व्यक्तिले कुटपिट गरेको जानकारी विज्ञप्तिमा दिइएको छ। चौरसियाको शरीरका विभिन्न भागमा चोट सहित टाउकोमा समेत चोट लागेको छ । साथै आँखाको रेटिनामा समेत समस्या देखिएको छ ।

समाचार संकलन गर्न पाउनु पत्रकारको नैतिक धर्म भएकोले यसरी पत्रकारमाथि जाइलाग्नु अत्यन्तै दुःखद् हो। पत्रकारमाथिको यो जघन्य अपराधको प्रेस जनमत संघ घोर निन्दा र भत्र्सना गर्दछ विज्ञप्तिमा पाण्डेयले लेखेकाछन्। कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न प्रशासनसँग माग पाण्डेयले विज्ञप्ति मार्फत गरेका छन्।

पत्रकार र पत्रकारिताको सुरक्षा गरी स्वतन्त्र एवं निर्भयताका साथ पेशामा लाग्ने वातावरण निर्माण गर्न पनि प्रेस जनमत संघ बाराले विज्ञप्तिमा सम्बद्ध निकायसँग आग्रह गरेको छ।

साझा गर्नुहोस्