बारा क्रिकेट सङ्घसंग ईन्फोटेकको सम्झौता

गढिमाइ खबर
127 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बारा जिल्ला क्रिकेट संघको वीरगञ्जमा नयाँ जर्सी शुक्रबार सार्वजनिक गरिएको छ।

वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेज र बारा जिल्ला क्रिकेट सङ्घबिच आगामी एक वर्षका लागि प्रायोजन सम्झौताको अवसरमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा नयाँ जर्सी सार्वजनिक भएको हो। नेशनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट सङ्घलाई जर्सी, अन्य खेल पोसाक, खेलकुद सामग्री र आर्थिक सहयोग सम्झौता अनुसार प्रदान गर्नेछ ।

बारा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसिया र नेशनल इन्फोटेक कलेजका संस्थापक निर्देशक मनिष सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नेशनल इन्फोटेकको लोगो अङ्कित संघको नयाँ जर्सी सार्वजनिक गरिएको छ।

प्रायोजन सम्झौताले बारा जिल्ला क्रिकेट सङ्घलाई आगामी प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्ने प्रेरणा दिनेछ। नयाँ जर्सी र सुविधाहरूले खेलाडीहरूलाई फाइदा हुने विश्वास लिइएको छ। खेलाडीहरुको मनोबल बढ्ने र मधेस प्रदेशको क्रिकेट विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास रहेको छ।

सम्झौता पत्रमा बारा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका छन्। उनले स्थानीय क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन मिल्ने जनाए। यस्ले खेलको स्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने उनले बताए। नेशनल इन्फोटेक कलेजको यो सहयोगले खेलाडीहरूलाई राम्रो सुविधा र अवसर प्राप्त हुने जनाउदै उनले प्रायोजनलाई अधिकतम उपयोग गर्ने जनाए।

बारा जिल्लालाई क्रिकेटको क्षेत्रमा अझ अगाडि लैजाने उनले प्रतिबद्धता व्यक्त गरे। नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले क्रिकेटप्रति संस्थाको प्रतिबद्धता व्यक्त गर्दै खेलकुद र शिक्षालाई सँगसँगै लैजाने प्रयास गरेको जानकारी दिए। बारा जिल्ला क्रिकेट सङ्घसँगको सहकार्य गर्वको विषय भएको जनाउँदै उनले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउन चाहेको उनले जनाए।

कार्यक्रममा मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनिल महासेठको विशेष उपस्थिति थियो। यस्तै सो कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरू पवन अग्रवाल र विनोद दासको समेत उपस्थिति रहेको हो। कार्यक्रममा मधेस प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष सुवास जयसवाल, बारा जिल्ला क्रिकेट सङ्घका अन्य पदाधिकारी, सदस्यहरू र बारा जिल्लाका क्रिकेट खेलाडीहरूको उपस्थिति रहेको थियो।

साझा गर्नुहोस्