कलैया : बारा प्रहरीले ड्रप ड्रग्स अभियान अन्तर्गत मोटरसाइकल चोरी गरी बेच्ने र किन्ने गरी तीन जनालाई मंगलबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले शुरु गरेको अभियान अन्तर्गत लागू औषध सेवनकर्ता तथा अनैतिक कृयाकलापमा संलग्न ब्यक्तीहरुलाई अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको छ। बारा प्रहरीले रौतहट प्रहरीको समन्वयमा उनीहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं.७ योजना टोल वस्ने २५ वर्षीय चमन मगर रहेका छन्। रौतहटको गुजरा नगरपालिका वडा नं.२ वस्ने २३ वर्षीय रोशन मगर पक्राउ परेका हुन्। रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी टोल बस्ने ३० वर्षीय रामप्रवेश महरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिएका छन्।
असार २४ गते मंगलबार बाराको निजगढ नगरपालिका वडा नं.७ बस्ने प्रशान्त लामाको घरमा पार्किङ गरी राखेको इन्जिन नं.जि३जे३इ०५९१३७५,च्यासिस नं.एमई१ आरजि ४४५८आर ००९७५४१ भएको म.प्र.०३– ०३३ प ७५१० नम्बरको यामाहा कम्पनिको एफजेड भि २ डिडि मोटरसाइकल हराएको तथा चोरी भएको हो। मोटरसाइकल खोजतलास गर्न भन्दै निजगढ नगरपालिका वडा नं. ६ वस्ने बाल कृष्ण हुमागाईले ईलाका प्रहरी कार्यालय निजगढमा निवेदन दिएका थिए।
प्रहरी टोलीले बारा निजगढ नगरपालिका वडा नं.७ योजना टोल स्थितमा सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय चमन मगरलाई नियन्त्रणमा लिएको थियो। चमनलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकल चोरी गरि जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं.२ का २३ वर्षीय रोशन मगरलाई बिक्री गरेको भनि खुलाईदिएका थिए।
रोशन मगरले रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी स्थायी वतन भई गरुडा झाझपुल चोक स्थितमा न्यू राजन वर्कशप संचालन गर्ने राम प्रवेश महरालाई रु. एकतिस हजार रुपैयाँ मा बिक्री गरेको भनि स्वीकार गरेका थिए। चोरी कसूरमा संलग्न रहेका जिल्ला रौतहट गुजरा २ का रोशन मगर,रौतहटको गरुडा नगरपालिका वडा नं. २ गेडहिगुठी स्थायी वतन भई गरुडा झाझपुल चोक स्थितमा न्यू राजन वर्कशप संचालन गर्ने राम प्रवेश महारालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय गरुडा रौतहटसँग आवश्यक समन्वय गरि संयुक्त प्रहरी टोलीले महाराको घर कोठा खानतासी गर्दा राम प्रवेश महराको घरको आँगनमा नम्बर पलेट नभएको इन्जिन नं.जि ३जे३इ ०५९१३७५,च्यासिस नं. एमई १ आरजि ४४५८ आर ००९७५४१ भएको भएको यामाहा कम्पनिको एफजेड भि २ डिडि मोटरसाइकल पार्क गरी राखेको अवस्थामा फेला परेको थियो।
चोरीको मोटरसाईकल रितपुर्वक बरामद गरिएको छ। बरामदी मोटरसाईकल तथा चोरी कसूरमा संलग्न रहेका प्रतिवादीहरु चमन मगर,रोशन मगर र राम प्रवेश महरालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।









