कलैया : सूर्तिजन्य पदार्थको सेवनबाट नेपालमा बर्षेनी २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बारा र स्वास्थ्य कार्यालय बाराको संयुक्त आयोजनामा मंगलबार कलैयास्थित बरेवा दरबार होटलमा आयोजित सूर्तिजन्य पदार्थ सेवन तथा लागु औषध न्यूनिकरण सम्बन्धी जनचेतना र ऐन कानुन सम्बन्धी अन्र्तक्रिया अभिमुखीकरण तथा पैरवी कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।
नेपालका २८ प्रतिशत पुरुष र पाँच प्रतिशत महिला सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको जनाईएको छ। उक्त कार्यक्रममा सहजीकरण गर्दै जितपुर सिमरा उपमहानगरपालिका जन स्वास्थ्य अधिकृत रवि कुमार भाष्करले चुरोटमा सात हजार तीन सय ५७ रसायन पाउने गरेको बताए। उनले जसमा ७० प्रतिशत रसायनका कारण क्यान्सर रोग लाग्ने गरेको बताए।
सूर्तिजन्य पदार्थको सेवनले मुख,जिब्रो सम्बन्धी क्यान्सर,मुटु सम्बन्धी रोग समेत लाग्ने गरेको उनले बताए ।सूर्तिजन्य पदार्थको सेवनले गर्भमा रहेको बच्चाको समेत विकास नहुने उनले बताए। उनले व्यक्तिहरुलाई सूर्तिजन्य पदार्थको सेवनमा रोक लगाउनु पर्ने समेत माग गरे।
अठार बर्ष मुनीका बालबालिकालाई सूर्तिजन्य पदार्थ बिक्री बितरण गर्न नपाईने ऐन कानुन रहेको उनले बताए। यसैगरी अस्पताल विद्यालय बाट एक सय मिटर पर सम्म सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्न नपाईने,उपहारको रुपमा दिन नपाईने,पसलमा सजाएर राख्न नपाईने,एउटा चुरोट बिक्री गर्न नपाईने ऐन कानुन रहेको छ उनले भने। ऐन कानुन विपरित सार्वजनिक स्थलमा धुम्रपान गरेमा रु एक सय सम्म दण्ड जरिवाना गर्न सकिने उनले बताए।
उक्त कार्यक्रममा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी सहायक निरीक्षक राजन साहले नेपालमा ७० प्रतिशत ईन्जेक्शनको माध्यमबाट लागु औषध सेवन हुने गरेको बताए। भने ३० प्रतिशत लागु औषध खाने गरिएको समेत उनले जानकारी दिए। लागु औषधले स्नायु प्रणालीलाई शिथिल बनाउने उनले बताए।
उक्त कार्यक्रममा सहजीकरण गर्दै बिजामका मनोज खडकाले कलैया उपमहानगरपालिकामा ६१८ जना लागु औषध प्रयोगकर्ता रहेको बताए ।
जसमा १३६ जना बिधार्थीहरु समेत रहेको उनले जानकारी दिए। उनले कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिकामा लागु औषधको उच्च जोखिममा रहेको बताए।
उक्त कार्यक्रममा प्रमुख आतिथ्यबाट बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागु औषध सेवनको कारण समाज दिगभ्रमित भईरहेको बताए। उनले विकृति संस्कृति बनेपछि नियन्त्रण गर्न गाह्रो हुने समेत बताए। उनले विद्यालयको वरिपरी सूर्तिजन्य पदार्थको बिक्री बितरण गर्न नदिने कार्यको शुरुवात गर्नुपर्नेमा जोड दिए ।
उनले स्थानीय सरकारले समेत पुनः स्थापना केन्द्रको स्थापना गर्ने अभियानको शुरुवात गर्नुपर्ने बताए। उनले सभा,सेमीनार,गोष्ठी लगायतको कार्यक्रममा समेत सूर्तिजन्य पदार्थको सेवनमा रोक लगाउनुपर्ने बताए।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको बिशिष्ट आतिथ्यमा बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदिप साहको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी,बिधार्थी,शिक्षक,संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा स्वागत स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव एवम् सञ्चालन भागिरथ चौधरीको रहेको थियो।