कलैया उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वर्णवालसहित छ जनाले सेनेटरी प्याड खरिदमा विशेष अदालतबाट पाए सफाइ

गढिमाइ खबर
303 पाठक संख्या

कलैया : कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवालसहित छ जनालाई सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतको संयुक्त इजलासले सफाइ दिएको छ।

न्यायाधीश तेजनारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार सफाई दिएको हो। प्रतिवादीहरूविरुद्ध प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर गर्दै कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ,सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहलाई सफाई दिइएको हो।

अर्थिक वर्ष २०७७÷०७८ तथा २०७८÷०७९ मा सेनिटरी प्याड खरिदमा सार्वजनिक खरिद नियमावली र कार्यविधि उल्लङ्घन गरी अस्वाभाविक मूल्य निर्धारण, एकै परिवारका फरक फर्ममार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का प्रदान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत २६ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो।

अख्तियारको दाबीअनुसार, पहिलो वर्षमा प्रति प्याकेट रु. ७८ मा खरिद गरिएका प्याड दोस्रो वर्षमा रु. २४ मा खरिद भएको देखिएको र यसरी ९६ हजार २८० प्याकेटमा रु. ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरिएको आरोप लगाइएको थियो।

तथापि अदालतले आरोप पुष्टि नहुने निष्कर्षमा पुग्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो। २०८२ असर ४ गते बुधबार कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको असामयिक निधन भएको थियो ।

साझा गर्नुहोस्