कलैया,१८ बैशाख । गत आईतबार राति हावाहुरी संगै परेको असिनापानीले बाराको सिम्रौनगढ लगायत क्षेत्रमा लगाईएको मकैबाली तथा तरकारी बालीमा क्षति पुर्याएको थियो ।
लामो सयमपछि पानी परेपछि बारा लगायतका क्षेत्रमा किसानहरुलाई राहत मिलेको थियो तर जिल्लाको सिम्रौनगढ लगायतका आसपासका क्षेत्रमा भने हावाहुरी र असिना पानी परेको थियो । असिना पानीले सो क्षेत्रमा किसानहरुले लगाएको पाक्न लागेको मकै बाली र विभिन्न प्रकारका लहरे तरकारी खेतीमा क्षति पुगेको थियो ।
असिना पानीले किसानहरुको करौडोको बाली नाली क्षति भएपछि बुधबार जिल्ला स्तरीय उच्च सुरक्षा अधिकारीको एक टोलीले सिम्रौनगढ क्षेत्रमा स्थलगत अनुगमन निरिक्षण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा उक्त टोली क्षति निरिक्षण गर्न पुगेको हो । टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र ७ मा असिना पानीले क्षति पु¥याएको मकैबाली तथा तरकारी बालीको अनुगमन गरेको छ ।
उक्त टोलीले निरिक्षणका क्रममा पिडीत किसानहरु संग समेत क्षतिको बारेमा जानकारी लिएको छ । सिम्रौनगढ क्षेत्रमा भनेको बारा जिल्लाको सवैभन्दा बढि तरकारी बाली लगाउन भएकोले सो क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा लिईन्छ ।
निरिक्षण टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङ्ग,स्थानीय जनप्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा पिडित किसानहरुले लाखौको क्षति भएकाले सरकारसंग क्षतिपुर्तिका लागि पहल गरिदिन टोलीलाई आग्रह गरेका थिए । यसैगरी पिडित किसानहरुलाई प्रजिअ अधिकारीले किसानहरुलाई क्षतिपुर्ती दिनका लागि कृषि मन्त्रालयमा सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हावाहुरी तथा असिना पानीले बाराको सिम्रौनगढमा करौडौ रुपैया बराबरको तरकारी बाली नष्ट गरेको छ । असिनापानीले सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ बजार,अमृतगञ्ज,जानकी नगर, सलेमपुर,हरिहरपुरा,गंगा नगर,श्री नगर बैरिया,बिषुणपुर,खजानी,झवानी,महुआही,सतुवाही,पर्सा टोला,अमरपुर,कवलपुर,ईटवाल,कनकपुर,देवापुर टेटा, कचोर्वा ,पटेर्वा ,बसवरिया लगायतका क्षेत्रमा लगाईएको तरकारी बालीमा क्षति पुरयाएको हो ।
असिनापानीले मकैबाली, काउली, टमाटर, बोडी, करेला, काक्रो, भिण्डी, भन्टा, लगायतको तरकारी बाली नष्ट भएको हो । सिम्रौनगढ क्षेत्रमा मात्र असिना पानीले दुई करोड रुपैया बराबरको क्षति पुरयाएको सिम्रौनगढका अग्रज पत्रकार रामेशवर मेहताले जानकारी दिएका छन ।









