कलैया : पुर्वाधार विकास कार्यालय बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले सोमबार छडके अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो ।
सो अनुगमनको क्रममा निमित्त कार्यालय प्रमुख राजेन्द्र साह,ईन्जिनियर रिम्पु कुमारी यादव,सब इन्जिनियर रामसेवक यादव र कार्यालय सहयोगी उमेश कुमार साह र कम्प्युटर अपरेटर विजेन्द्र चौधरी २०८१ चैत २१ देखि २५ गतेसम्म कार्यालयमा अनुपस्थित रहेको पाईएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् ।
सो कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदार के कति छन् भन्ने एकिन डाटा नभएको समेत उनले बताएका छन् ।
साथै कार्यालय समयमा कुनै पनि कर्मचारीहरुले ड्रेस नलगाएको पाईएको समेत उनले बताए ।
पुर्वाधार विकास कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो बढन थालेपछि छड्के अनुगमन गरिएको नायब सुब्बा स्याङतानले बताए ।
अनुगमनको क्रममा प्रशासनका नायब सुब्बा स्याङतानले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन निर्देशनसमेत दिएका छन् ।
कार्यालयमा अनुपस्थित रहेका पाँच जना कर्मचारीहरुको हाजिरी समेत काटिएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् ।
सो अनुगमन टोलीमा सदस्य लेखापाल दल बहादुर शाही समेतको सहभागिता थियो।
उक्त कार्यालयमा जम्मा २० वटा कर्मचारीको दरबन्दी संरचना रहेको छ भने १२ रिक्त दरबन्दी पनि रहेको छ । सो कार्यालयमा ८ जना कार्यरत रहेको मध्य पाँच जना कर्मचारीहरु अनुपस्थित रहेका छन् ।