भदौमा बाराको सडकमा मृत्युको ताण्डव ः ८४ दुर्घटनामा १२ जनाको ज्यान, १२२ घाइते, ११५ जनाको उद्धार

गढिमाइ खबर
50 पाठक संख्या

श्यामबाबु यादव
कलैया, १० असोज/
बारा जिल्लामा २०८३ सालको भदौ महिना सडक दुर्घटनाका हिसाबले भयावह बनेको छ। जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकअनुसार एक महिनामा जिल्लाभर ८४ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु, १२२ जना घाइते भएका छन् भने दुर्घटनामा परेका ११५ जनाको उद्धार गरिएको छ।
एक महिनामै ८४ वटा दुर्घटना र त्यसबाट १२ जनाको मृत्यु हुनु जिल्लाको सडक सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ। राजमार्गदेखि सहरी सडक, पुलदेखि चोक तथा सेवा लेनदेखि स्थानीय सडकखण्डसम्म भएका दुर्घटनाले बारामा सडक यात्रा दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएको देखिएको छ।
भदौ महिनामा भएका दुर्घटनामध्ये मोटरसाइकलसँग सम्बन्धित घटना उल्लेख्य छन्। मोटरसाइकल आफैँ अनियन्त्रित हुने, दुई मोटरसाइकल आपसमा ठोक्किने तथा ट्रक र टिपरजस्ता ठूला सवारीसँग ठक्कर खाने घटनामा मानवीय क्षति भएको छ। यसले जिल्लाका सडकमा दुईपांग्रे सवारी प्रयोगकर्ता उच्च जोखिममा रहेको देखाउँछ।
भदौ ११ गते कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भयो। गम्भीर घाइते पाण्डेलाई प्रादेशिक अस्पताल कलैयामा उपचारपछि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
भदौ १६ गते परवानीपुर गाउँपालिका–४ केडिया आँखा अस्पताल अगाडि बाटो काटिरहेका सात वर्षीय भारतीय बालक महम्मद ईशानलाई विद्युतीय गाडीले ठक्कर दियो। टाउकोमा गम्भीर चोट लागेका बालकको उपचारका क्रममा मृत्यु भयो। प्रहरीले घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो।
भदौ १७ गते जितपुरसिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुलनजिक पूर्व–पश्चिम राजमार्गमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा ४६ वर्षीय रञ्जन शर्मा पौडेलको मृत्यु भयो। दुर्घटनामा दुई जना घाइते भए।
भदौ २० गते जितपुरसिमरा–१ बैजुरा पुलमा खाली टिपरले मोटरसाइकललाई ठक्कर दिँदा जितपुरसिमरा–१६ डुमरवानाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भयो। दुर्घटनापछि फरार भएका टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
यस्तै, भदौ २२ गते जितपुरसिमरा–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि कुखुरा बोक्ने खाली पिकअप आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोक्किँदा २२ वर्षीय चालक जैमुदिन अंसारीको मृत्यु भयो। दुर्घटनामा सहचालक घाइते भए।
भदौ २५ गते कलैया–वीरगन्ज सडकखण्डमा सुमो गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भयो। सुरुमा पहिचान नखुलेका मृतक पछि प्रसौनी गाउँपालिका–५ का १९ वर्षीय अलोककुमार साह भएको खुलेको प्रहरीले जनाएको छ।
भदौ २७ गते कलैया उपमहानगरपालिका–४ अदालत रोडमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ३५ वर्षीय साहेब देवानको मृत्यु भयो। दुर्घटनामा दुई जना घाइते भए।
भदौ ३० गते जितपुरसिमरा–२३ सागर आयल पेट्रोल पम्पनजिक ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा पर्साको वीरगन्ज–१५ का ३५ वर्षीय रबिन्द्र उपाध्याय र करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी रहेको बारा प्रहरीको विवरणमा उल्लेख छ।
जिल्लाभर भएका ८४ वटा सडक दुर्घटनामा भने १२ जनाको मृत्यु, १२२ जना घाइते र ११५ जनाको उद्धार भएको यी घटनाहरू गम्भीर भएको प्रहरी तथ्यांकले देखाउँछ।

दुर्घटनाको कारण खोजी आवश्यक :
दुर्घटनाको विवरणमा मोटरसाइकल र पिकअप आफैँ अनियन्त्रित भएको उल्लेख भए पनि ‘आफैँ अनियन्त्रित’ हुनु दुर्घटनाको अन्तिम कारण होइन। सवारी किन अनियन्त्रित भयो, गति कति थियो, चालकको अवस्था कस्तो थियो, सवारीको यान्त्रिक अवस्था ठीक थियो कि थिएन तथा सडकको अवस्था कस्तो थियो भन्ने विषयमा प्राविधिक अध्ययन आवश्यक हुन्छ।
दुर्घटनाको सम्पूर्ण कारणलाई चालकको लापरवाहीमा मात्र सीमित गरेर हेर्नु पर्याप्त हुँदैन। सडकको अवस्था, गति, ट्राफिक व्यवस्थापन, सडक संकेत, सेवा लेनबाट मुख्य सडकमा प्रवेश गर्ने अवस्था, पैदलयात्रीका लागि उपलब्ध संरचना तथा ठूला र साना सवारीबीचको व्यवस्थापन पनि दुर्घटनाको कारण पहिचान गर्ने महत्वपूर्ण पक्ष हुन्।
बारा औद्योगिक तथा यातायातको महत्वपूर्ण केन्द्र भएकाले यहाँका सडकमा दैनिक ठूलो संख्यामा ट्रक, टिपर, बस, सुमो, विद्युतीय सवारी र मोटरसाइकल सञ्चालन हुन्छन्। गति र आकारमा ठूलो अन्तर भएका सवारी एउटै सडकमा सञ्चालन हुँदा जोखिम थप जटिल बन्न सक्छ।
विशेषगरी बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिएको तथा सागर आयलनजिक ग्यास बोकेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको घटनाले ठूला मालवाहक सवारी र दुईपांग्रे सवारीबीचको सुरक्षा व्यवस्थापनको आवश्यकता औँल्याएको छ।

‘सडक सुरक्षामा दीर्घकालीन योजना आवश्यक’ :
नेपाल पत्रकार महासंघ बाराका पूर्वउपाध्यक्ष राकेश पाण्डेयले सडक दुर्घटना न्यूनीकरणका लागि दुर्घटना भएपछि गरिने कारबाहीभन्दा दुर्घटना हुनुअघि जोखिम पहिचान र रोकथाममा जोड दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार प्रहरी, सडक व्यवस्थापन निकाय, स्थानीय तह, यातायात व्यवस्था कार्यालय तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय नहुँदा सडक सुरक्षाको विषय अपेक्षित रूपमा सम्बोधन हुन सकेको छैन।
पाण्डेयले जोखिमयुक्त सडकखण्ड, पुल र चोक पहिचान गरी विशेष सुरक्षा योजना लागू गर्नुपर्ने, गति नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने तथा सडक संरचनामा आवश्यक सुधार गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले दुर्घटनालाई केवल चालकको गल्तीका रूपमा हेर्नुभन्दा सडकको अवस्था, ट्राफिक व्यवस्थापन र सवारी सञ्चालन प्रणालीको समेत अध्ययन गर्नुपर्ने बताउनुभयो।

पैदलयात्रीको सुरक्षा पनि चुनौतीपूर्ण :

बाराका सडकमा पैदलयात्रीसमेत सुरक्षित नरहेको भदौका दुर्घटनाले देखाएका छन्। परवानीपुरमा सात वर्षीय बालकको मृत्यु तथा कलैया–वीरगन्ज सडकखण्डमा पैदलयात्रीको मृत्युका घटनाले सडक पार गर्ने सुरक्षित संरचना, सडक बत्ती, संकेत तथा ट्राफिक व्यवस्थापनको अवस्थामाथि प्रश्न उठाएका छन्। विद्यालय, अस्पताल, बजार, चोक तथा बाक्लो बस्ती भएका क्षेत्रमा पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
यसै विषयमा अधिवक्ता परमहंस केसरीले सडक सुरक्षा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले दुर्घटनाको कारण र जिम्मेवारीको वस्तुगत अध्ययन आवश्यक रहेको बताउनुभयो।
केसरीका अनुसार दुर्घटनापछि कानुनी कारबाही गर्नु आवश्यक भए पनि त्यससँगै दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पहिचान गर्नुपर्छ। जोखिमयुक्त सडक, कमजोर संरचना, पर्याप्त संकेतको अभाव तथा पैदलयात्रीका लागि सुरक्षित व्यवस्था नभएको स्थानमा सुधार नगरी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने उहाँको भनाइ छ। उहाँले सडक सुरक्षा व्यवस्थापनमा सम्बन्धित निकायको जिम्मेवारी स्पष्ट गरी नियमित अनुगमन र जवाफदेहिताको व्यवस्था आवश्यक रहेको बताउनुभयो।
दुर्घटनापछि उद्धारभन्दा दुर्घटना रोकथाम मुख्य :

प्रहरीले दुर्घटनापछि घटनास्थलमा टोली परिचालन गर्ने, घाइतेको उद्धार गरी अस्पताल पठाउने, सवारी नियन्त्रणमा लिने तथा चालकलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउने गरेको छ। भदौ महिनामा दुर्घटनामा परेका ११५ जनाको उद्धार भएको तथ्यांकले प्रहरीको उद्धार भूमिकालाई देखाउँछ।
तर सडक सुरक्षाको मूल प्रश्न दुर्घटना भएपछि उद्धार भयो कि भएन भन्ने मात्र होइन। दुर्घटना हुनुअघि जोखिम पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न सरोकारवाला निकायले के ग¥यो भन्ने विषय महत्वपूर्ण हो। एक महिनामा ८४ वटा दुर्घटना भइसकेपछि जोखिमयुक्त सडकखण्ड, पुल र चोकको पहिचान गरी विशेष सुरक्षा योजना बनाउने, गति नियन्त्रण गर्ने, पैदलयात्रीका लागि सुरक्षित क्रसिङ निर्माण गर्ने, सडक बत्ती तथा संकेत सुधार गर्ने र सेवा लेनलाई व्यवस्थित गर्ने काममा स्थानीय सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।

‘सडक सुरक्षा अभियानलाई व्यवहारमै उतार्नुपर्छ’ :
नेपाली कांग्रेसका युवा नेता प्रवेज आलम अंसारीले सडक दुर्घटना न्यूनीकरणका लागि कागजी योजना र नियमित चेकजाँचभन्दा व्यवहारमै देखिने सुधार आवश्यक रहेको बताउनुभयो।
उहाँले बारा औद्योगिक तथा यातायातको प्रमुख केन्द्र भएकाले यहाँका सडकमा ठूला मालवाहक सवारीदेखि मोटरसाइकल र पैदलयात्रीसम्मको चाप उच्च रहेको उल्लेख गर्दै जोखिमयुक्त स्थान पहिचान गरी त्यस्ता स्थानमा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो।
अंसारीका अनुसार ट्राफिक नियम कार्यान्वयनसँगै सडकको अवस्था सुधार, सडक बत्ती र संकेतको व्यवस्था, पैदलयात्रीका लागि सुरक्षित बाटो तथा ठूला सवारीको गति र लेन अनुशासनमा प्रभावकारी निगरानी आवश्यक छ। उहाँले सडक दुर्घटनालाई सामान्य घटनाका रूपमा नलिएर नागरिकको जीवनसँग जोडिएको सार्वजनिक सुरक्षाको विषयका रूपमा लिनुपर्ने बताउनुभयो।
जिम्मेवारी दुर्घटना हुनुअघि खोजिनुपर्छ
८४ दुर्घटना, १२ मृत्यु, १२२ घाइते र ११५ जनाको उद्धार भदौ महिनाको सडक सुरक्षा अवस्थाको गम्भीर तथ्यांक हो। यी संख्या केवल प्रहरी अभिलेखका तथ्यांक मात्र होइनन्, सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको संकेत पनि हुन्। अब प्रश्न दुर्घटना भएपछि कसलाई नियन्त्रणमा लिने भन्ने मात्र होइन। प्रश्न हो—दुर्घटना हुनुअघि जोखिम कसले पहिचान गर्ने, जोखिमयुक्त सडक कसले सुधार गर्ने र नागरिकको ज्यान जोगाउने जिम्मेवारी कसले लिने?
बाराको सडक सुरक्षामा अब नियमित ट्राफिक चेकजाँच र दुर्घटनापछिको कारबाहीसँगै जोखिम पहिचान, संरचनागत सुधार, गति नियन्त्रण, पैदलयात्री सुरक्षा, सवारीको यान्त्रिक परीक्षण र प्रभावकारी निगरानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। भदौको तथ्यांकले एउटा कुरा स्पष्ट गरेको छ—सडक दुर्घटना नियन्त्रण दुर्घटना भएपछि गरिने कारबाहीबाट मात्र सम्भव हुँदैन; दुर्घटना हुनुअघि जोखिम रोक्ने प्रणाली नै प्रभावकारी हुनुपर्छ।

साझा गर्नुहोस्