बारामा आठ ग्यास विक्रेकतामा प्रशासनको छड्के अनुगमन,कृत्रिम अभाव सिर्जना गरिएको अवस्था फेला नपरेको : प्रजिअ मिश्र

गढिमाइ खबर
39 पाठक संख्या

कलैया । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिले बाराका विभिन्न ग्यास उद्योग तथा डिलरमा छड्के अनुगमन गरेको छ। आइतबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा गएको टोलीले जिल्लाका आठ वटा ग्यास उद्योग तथा बिक्री केन्द्रको स्थलगत निरीक्षण गरेको हो।

टोलीले कलैया उपमहानगरपालिका–१४ बघवनस्थित रोहित इन्टरप्राइजेज, महागढीमाई नगरपालिका–२ बरियारपुर बजारको जित प्रकाश जेनरल स्टोर्स, वडा नं. १ स्थित राधेकृष्ण ग्यास पसल, वडा नं. ३ गन्जभवानीपुरको राधेश्याम स्टोर्स, करैयामाई गाउँपालिका–४ को राजन स्टोर्स, वडा नं. १ स्थित भगवानी सहनी किराना तथा जेनरल स्टोर्स, जयबाबु स्टेसनरी स्टोर्स र मधुवनस्थित ओमप्रकाश ग्यास पसलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा कुनै पनि बिक्री केन्द्रमा कालोबजारी, नाफाखोरी वा कृत्रिम अभाव सिर्जना गरिएको अवस्था फेला नपरेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए। उनका अनुसार जिल्लामा उपभोक्ताले सामान्य रूपमा ग्यास प्राप्त गरिरहेको अवस्था देखिएको छ। ग्यासको अभाव हुन सक्ने आशंकामा उपभोक्ताले घरमा आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न खोज्दा केही स्थानमा मागको चाप बढेको हुनसक्ने मिश्रले बताए। उद्योगी, वितरक र उपभोक्तासँग गरिएको छलफलबाट पनि यस्तो अवस्था देखिएको उनको भनाइ छ।

“ग्यास नपाइने हो कि भन्ने आशंकाले उपभोक्ताले अतिरिक्त सिलिन्डर राख्न खोज्दा केही दबाब सिर्जना भएको देखिन्छ,” मिश्रले भने, “तर बाहिर सार्वजनिक भएजस्तो जटिल अवस्था बारा जिल्लामा देखिएको छैन।” उनका अनुसार उपभोक्ताको विवरण संकलन गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। बजारमा कालोबजारी वा कृत्रिम अभावसम्बन्धी अवस्था नरहेको र लामो समयदेखि ग्यास नपाएको गुनासोसमेत प्राप्त नभएको उनले बताए।

ग्यासको वितरणमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास रोक्न जिल्लाभर अनुगमनलाई निरन्तरता दिइने मिश्रले जानकारी दिए। उपभोक्ताको अभिलेखका आधारमा माग र आवश्यकतालाई मूल्याङ्कन गरी ग्यास वितरणको व्यवस्था मिलाइएको उनको भनाइ छ। समग्रमा जिल्लाको बजार अवस्था सामान्य रहेको र उपभोक्ता त्रसित हुनुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले स्पष्ट पारे।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी मिश्रसहित रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेलगायत सुरक्षा अधिकारी तथा सञ्चारकर्मी सहभागी थियो ।

साझा गर्नुहोस्