मटिअर्वा छोटी भन्सार पुनः सञ्चालन गर्ने तयारी

गढिमाइ खबर
42 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा छोटी भन्सार पुनः सञ्चालन गर्ने सरकारले तयारी गरेको छ। सीमावर्ती क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य रहेको छ।

सरकारले मटिअर्वा छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ।सरकारले देशभर रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगंज भन्सार कार्यालय अन्तर्गत मटिअर्वा छोटी भन्सारलाई समावेश गरेको हो।

सरकारले उक्त भन्सार सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया तत्कालै अगाडि बढाउने तयारी गरेको छ। लामो समयदेखि बन्द प्रायः रहेको भन्सार सुचारु भएपछि सीमापार व्यापार सहज हुने विश्वास रहेको छ। राजस्व संकलनमा समेत वृद्धि हुने विश्वास लिइएको छ।

भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा उचित व्यवस्थापनका लागि बारा क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजनको माग गरेको उनको सचिवालयले जनाएको छ। मटिअर्वा नाकाको स्तरोन्नति र पूर्वाधार विकासले यस क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ।

साझा गर्नुहोस्