गढीमाईखबर डेस्क
कलैया,५ चैत/
आगामी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले दमदार टोली सार्वजनिक गरेको छ। अनुभवी खेलाडी अनिल साह को कप्तानीमा घोषणा गरिएको टोलीमा बाराका खेलाडीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
यसपटक टोलीमा बाराबाट मात्रै ५ जना खेलाडी समावेश भएका छन्, जसले जिल्लाको क्रिकेट सामर्थ्यलाई राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ। कप्तान अनिल साह स्वयं बाराका हुन् र उनले विकेटकिपरको जिम्मेवारी समेत सम्हाल्नेछन्। उनीसँगै पवन सर्राफ, मोहमद आदिल अन्सारी, अरनिको यादव र निरज यादवले टोलीमा स्थान बनाएका छन्।
टिममा अनुभव र युवाशक्तिको सन्तुलन देखिन्छ। अन्य खेलाडीहरूमा रुपेश सिंह, रन्जित कुमार, मोहमद समिर, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त (विकेटकिपर), मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदिप पासवान रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने यो प्रतियोगिता चैत ७ गतेदेखि सुरु भई २०८३ बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। मधेश प्रदेशले यसपटक उपाधि दाबेदार टोलीको रूपमा आफूलाई प्रस्तुत गरेको छ, विशेषगरी बाराका खेलाडीहरूको प्रभावशाली उपस्थितिले टोलीलाई थप मजबुत बनाएको छ।





