कलैया : केही दिनदेखी अत्याधिक चिसो बढदै गएपछि बाराको विभिन्न पालिकाहरुले आफ्नो पालिकाभित्रका विद्यालयलाई जाडो विदा दिएको छ।
बाराको प्रसौनी गाउँपालिका,विश्रामपुर गाउँपालिका, सुवर्ण गाउँपालिका, सिम्रौनगढ नगरपालिकाले सोमबार अलग अलग सूचना जारी गर्दै जाडो विदा दिएको जनाएको हो। बाराको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवले सामुदायिक तथा संस्थागत विद्यालय (सबै) प्रसौनी गाउँपालिका, प्रसौनी बाराका विद्यालयमा यस्तो विदा दिएको सूचनामा जनाएका हुन्।
गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बढ्दो जाडोको कारण बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने भएको जनाइएको छ। पालिकाले पुस ८ गतेदेखि ११ गते शुक्रबार सम्म विद्यालयको पठन–पाठन बन्द रहने र पुस १३ गते आईतबारको दिन निर्धारित समयमा विद्यालय सञ्चालन हुने समेत प्रसौनी गाउँपालिकाले जानकारी दिएको छ।
यस्तै विश्रामपुर गाउँ कार्यपालिकाको कार्यालय बिश्रामपुर, बाराका शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख महेश रिमालले सामुदायिक/संस्थागत बिद्यालय सबै बिश्रामपुर गाउँपालिका, विश्रामपुर, बारालाई बिद्यालय पठन पाठन सम्बन्धमा सूचना जारी गरी विदाबारे जानकारी दिएका हुन्।
बिगत केहि दिन देखि बढेको अत्यधिक चिसोको कारणले विद्यालयमा अध्ययनरत वालवालिकाहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएको जनाउँदै पुस ८ गते देखि ११ गते शुक्रवार सम्म (जम्मा ४ दिन) बर्षे विदा बाट कट्टा हुने गरी विश्रामपुर गाउँपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन वन्द गर्नु/गराउनु हुन निर्णयानुसार अनुरोध सूचनामा गरिएको छ।
यता जाडो बढदै गएपछि बाराको देवताल गाउँपालिकामा दुई दिन विद्यालयहरुमा जाडो विदा दिइएको छ। हाल तराई क्षेत्रमा अत्याधिक चिसो बढेको कारणले विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै जाडो विदा दिइएको हो। यस गाँउपालिका क्षेत्र भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा पुस ८ देखि ९ गते सम्म जाडो विदा गरिएको जानकारी गाउँपालिकाको शिक्षा शाखाले दिएको हो।









