कलैया : बाराको कलैया बजार क्षेत्रमा रहेको साढे तीन किलोमिटर मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गतको सडकमा आइतबार राति देखि काम शुरु भएको छ।
निर्माणको जिम्मा पाएको ठेकेदारले कलैया उपमहानगरपालिका–१ को तीनकुने चोकदेखि काम सुरु गरेको हो। संस्कार एफएमदेखि दुर्गा स्कुलसम्म यो सडक कालोपत्रे गर्न बाँकी रहेको हो। यो सँगै अभियानको मुख्य उद्देश्य पूरा भएको भन्दै यूवा अभियन्ताहरूले चलाएको हस्ताक्षर अभियान यूवाहरूले सोमबार सामाजिक सञ्जालमार्फत स्थगित गरेको घोषणा गरेका छन्।
अभियानमा ६ हजार स्थानीयले हस्ताक्षर गरेको युवा अभियन्ता सौरभ चौगाईंले जनाएका हुन्। निर्माण कार्य सुरु भएपछि अभियान स्थगित गरिएको जानकारी दिए। सडक निर्माणको निरन्तर अनुगमन, सरोकारवाला निकायसँग समन्वय र सम्भावित बाधा हटाउने काममा अभियान केन्द्रित हुने जानकारी चौगाईले दिए।
भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई हस्ताक्षर बुझाउने उनले जनाए। सबै स्थानीयलाई निर्माण प्रक्रियामा सहयोग र निगरानी गर्न आग्रह गर्दै गुणस्तरीय सडक बनाउन आवश्यक रहेको बताएका छन्।
२०६८ सालमा हुलाकी राजमार्गअन्तर्गत २७ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको थियो। कलैया बजारको साढे ३ किलोमिटर सडकखण्डमा मुआव्जा विवाद, स्थानीयको आन्दोलन र सर्वोच्च अदालतमा परेको मुद्दाको कारण सडक बनाउन स्थगित गरिएको थियो। सर्वोच्चले मुद्दामा निर्णय गरेपछि सडक निर्माणको बाटो खुलेको हो।









