बारामा छठ पर्वमा नेपाली सेनाद्वारा निःशुल्क हेल्थ डेस्क सञ्चालन

गढिमाइ खबर
236 पाठक संख्या

कलैया : छठ पर्वको अवसरमा बाराको दुई स्थानमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य सेवा हेल्थ डेस्क संचालन गर्न लागेको छ ।

कलैया स्थित रिपुमर्दन गणले छठ पर्वलाई लक्षित गरेर कलैयास्थित सिदेश्वर महादेव मन्दिर परिसर र महागढी नगरपालिका–१ स्थित गढीमाई मन्दिर परिसरमा सोमबार आजदेखि हेल्थ डेस्क सञ्चालन गर्ने जनाएको छ ।

छठ पर्वमा भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सो डेस्कमार्फत प्राथमिक उपचार र आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिने गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्रीले बताएका छन ।

प्रमुख सेनानीले व्रतालु तथा भक्तजनहरूलाई कुनै समस्या परेमा तत्कालै हेल्थ डेस्कमा सम्पर्क गर्न आग्रह गरेका छन। उनले पोखरी वा नदीमा अघ्र्य दिने क्रममा चिप्लिएर पानीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धार टोली तैनाथ अवस्थामा रहने क्षेत्रीले जानकारी दिए ।

ठूला चाडपर्व तथा भीडभाड हुने स्थानहरुमा नेपाली सेनाले हरेक वर्ष यता स्वास्थ्य तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ।

साझा गर्नुहोस्