कलैया : एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै शनिबार बाराको कलैयामा सञ्चारकर्मीहरुले प्रर्दशन गरेका छन्।
नेपाल पत्रकार महासंघ बाराको अगुवाईमा सञ्चारकर्मीहरुले कलैयामा प्रदर्शन गरेका हुन्। उनीहरुले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय अगाडीको सडकमा प्रदर्शन गरेका हुन्।
पत्रकार माथीको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम बन्द होस् र पत्रकारको सुरक्षा ग्यारेन्टी गर लगायतको माग राखी सञ्चारकर्मीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शन पश्चात आयोजित बिरोध सभालाई सम्बोधन गर्दे नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले स्वतन्त्र रुपमा पत्रकारिता गर्ने पत्रकारहरुमाथी भौतिक आक्रमण गरी ज्यानै लिने सम्मको काम गर्नु निन्दनीय रहेको बताए।उनले दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरे।
कुनै पनि तानाशाही व्यवस्थालाई पत्रकार महासंघले स्वीकार नगरेको इतिहास साक्षी रहेको उनको भनाई थियो।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी कुनै हस्तक्षेप स्वीकार्य नहुने उनले चेतावनी दिए।
बिरोध सभामा बोल्दै नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठले पत्रकारमाथि गरिने आक्रमण निन्दनीय भएको बताउदै यस्ता कार्यलाई तत्काल बन्द गर्नुपर्ने माग गरे।
विरोध सभामा बोल्दै अग्रज पत्रकार उमेशलाल दासले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आवश्यक रहेको बताए।
नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा भएको बिरोधसभामा पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरब,सदस्य साजिर मंसुर,नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष कमल उपाध्याय,पुर्व उपाध्यक्ष राकेश पाण्डेय,पुर्व सचिव जयनारायण यादव,कार्य समिति सदस्य प्रभु यादव,नरेश गुप्ता,नारायण पौडेल,प्रेस युनियनका केन्द्रिय सदस्य अप्सरा पुडासैनी,बारा शाखाका अध्यक्ष श्यामबाबु प्रसाद यादव,प्रेस मञ्च नेपालका केन्द्रिय सदस्य अनिल बर्मा,प्रेस युनियन बाराका सदस्य संदिप प्रसाद यादव लगायतको सहभागिता रहेको थियो बिरोध सभामा सञ्चालन महासंघ बाराका सचिव पुष्पराज खतिवडाले गरे।
काठमाण्डौमा शुक्रबार राजाबादीहरुले गरेको आन्दोलनमा बिभिन्न सञ्चार गृहको भवनमा लगाएको आगोको समाचार संकलन गर्ने क्रममा एभिन्युज टेलीभिजनका क्यामरा मैन सुरेश रजकको आगोले जलेर मृत्यु भएको थियो।