कलैया : बारा प्रहरीले गाँजाको कारोबारमा संलग्न रहेकोे आरोपमा तिरहुत साप्ताहिक पत्रिकाका प्रकाशकलाई ६ महिना पछी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर-६ का अजित कुमार नुनिया भन्ने अजित कुमार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गएको बैशाख ६ गते पचरौता नगरपालिका वडा नम्बर-४ बाट दुई सय ३० किलो गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका-४ का चन्दन पासवानलाई नियन्त्रणमा लिएपछि नुनिया फरार थिए ।
प्रहरीले पासवानको बयानका आधारमा प्रकाशक अजितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रकाशक अजितलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।