बारा प्रहरीले कक्षा १२ को परिक्षा दिने नक्कली परिक्षार्थी दुई जनालाई नियन्त्रणमा लिएको छ।
बिहीवार रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्र “ख“ मा राष्ट्रिय परिक्षा बोर्डद्वारा संचालित कक्षा १२ को परिक्षामा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परिक्षार्थी बनि लेखा विषयको परिक्षा दिएको भन्ने आशंकाको आधारमा परिक्षामा खटिएका कर्मचारीहरु र प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका बस्ने अन्दाजी १७ वर्ष की नक्कली परिक्षार्थी (बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार नाम गोप्य राखिएको) र देवताल गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३० वर्षकी किरण साह रहेको प्रहरीले जनाएको छ ।
नक्कली परिक्षार्थी दुबै जनालाई नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।